काठमाडौँ । वाणिज्य बैंकहरुले एक महिनामै (साउनमा) ९ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका २० वाणिज्य बैंकले ९ अर्ब १७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको जनाएको छ ।
गत वर्षको यसै अवधिमा बैंकहरुले ८ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बढी नाफा कमाएका थिए । यस आधारमा हेर्दा चालु आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुको नाफा गत वर्षभन्दा बढेको छ ।
एक महिनामै करिब १ अर्बको हाराहारीमा ग्लोबल आइएमइ बैंकले नाफा कमाएको छ । यो बैंकको नाफा ८९ करोड २० लाख रुपैयाँ रहेको छ । दोस्रो बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ नबिलले ८० करोड बढी नाफा गरेको छ ।
नेपाल बैंक र माछापुच्छ्रे बैंकले भने सबैभन्दा कम नाफा गरेका छन् । नेपाल बैंकले २२ करोड ३० लाख रुपैयाँ र माछापुछ्रेले २० करोड २० लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, एनआइसी एसियाको पनि नाफा कम छ । यो बैंकले एक महिनामा २६ करोड ६० लाख रुपैयाँ कमाएको हो ।
