काठमाडौँ । अपाङ्गता भएका १२ सहित ९६ इजरायली पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
नेपालस्थित इजरायली दूतावासको समन्वयमा नेपाल आएको टोलीलाई मंगलबार राति इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरे । सालोम राफ्टिङ ट्रेक्स एन्ड एक्सपिडिसन र मास्टर हिमालयले उनीहरूको नेपाल यात्रा संयोजन गरेको हो । यी पर्यटक पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्र भ्रमणमा जाने उद्देश्यले आएका हुन्।
बुधबार काठमाडौँबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकप्टर मार्फत मनाङको हुम्दे, त्यसपछि थोरङला पास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकप्टर मार्फत पोखरा र पोखराबाट काठमाडौं फर्किने तालिका छ । अपाङ्गता भएका पर्यटक आगमन र उनीहरूले गर्ने साहसिक यात्राले नेपाल साहसिकमात्र नभई अपाङ्गमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रवाह गर्ने पर्यटन बोर्डले जनाएको छ ।
इजरायली पर्यटक टोलीलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै राजदूत गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको भन्दै नेपालको सुन्दरताको लाभ लिन आग्रह गरेका छन् । नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे ।
पर्यटन बोर्डका निमित्त बजार निर्देशक गौतमले अपाङ्ता भएका व्यक्तिको नेपाल भ्रमण गर्ने सोच र योजनाले विश्वरभरिका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए । इजरायली दूतावासको समन्वयमा गत वर्ष पनि अपाङ्गता भएका पर्यटकको एक टोलीले नेपाल भ्रमण गरेको थियो । सन् २०२३ मा ६ हजार ४ सय १७ इजरायली पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०२४ अगस्टसम्म ३ हजार २ सय ५ इजरायलीले नेपाल भ्रमण गरिसकेका छन् ।