काठमाडौँ । नेकपा एमालेले नियोजित रूपमा पार्टी र नेतृत्वविरुद्ध चरित्रहत्या गर्ने तथा भ्रमपूर्ण विषय सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेको भन्दै त्यसको संगठितरूपमा प्रतिवाद गर्न तलैसम्म परिपत्र गरेको छ ।
केन्द्रीय सचिवालय बैठकले पारित गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ मा व्यवस्थित प्रचार कार्य र प्रचार सञ्जालको विस्तार गर्नेबारे विभिन्न योजना तय गरिएको छ ।
महासचिव शंकर पोखरेलले तयार पारेको कार्ययोजनामा पार्टी विरोधी शक्तिहरूबाट नियोजित रूपमा पार्टी र नेतृत्वका विरुद्ध चरित्रहत्या गर्ने र प्रतिष्ठामा आघात पुर्याउने खालका अवाञ्छित र भ्रमपूर्ण विषयहरू सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेको उल्लेख छ ।
कार्ययोजनामा भनिएको छ, ‘पार्टी विरोधी तत्त्वका यस्ता भ्रमपूर्ण प्रचारका कारण सर्वसाधारणमा नकारात्मक प्रभाव विस्तार हुने अवस्था छ । पार्टी कामको योजनाअन्तर्गत पार्टी तथा नेतृत्वको सरकारले गरेका कामहरूको प्रभावकारी प्रचार र गलत तथा भ्रमपूर्ण कुराको प्रभावकारीरुपमा प्रतिवाद गर्ने गरी प्रचार कार्यलाई प्रभावकारी बनाउने विषयलाई महत्वका साथ समेट्नु पर्दछ ।’