काठमाडौँ । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो ।
विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा लगिएको थियो ।
आइतबारै पक्राउ पुर्जी जारी गरेर पक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।
त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको देखिएको छ ।