दाङ । दाङका नवनियुक्त प्रमुख जिल्ला अधिकारी(प्रजिअ) श्री कृष्णप्रसाद लम्सालले नागरिक सहायता कक्षमा प्रत्यक्ष रूपमा सेवाग्राहीसँग सम्पर्कमा रही गुनासो सुनुवाइ कार्यक्रमको थालनी गरेका छन्। आइतवारदेखि हरेक दिन दिउँसो १२ः०० देखि १२ः३० बजे सम्म कोठा नं. ११० मा रहेको नागरिक सहायता कक्षमा स्वयं उपस्थित भई सेवाग्राहीका गुनासो सुन्ने कार्यक्रम सुरु भएको हो।
लम्सालले जनताको समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यका साथ यो कार्यक्रमको सुरुवात गरेको बताएका छन् । प्रजिअ अनुपस्थित भएका दिनमा सहायक प्रमुख जिल्ला अधिकारी वा प्रशासकीय अधिकृतले गुनासो सुनुवाइ गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
सेवाग्राहीका जायज गुनासो र सुझावहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न हरेक महिनाको ३ गते दिउँसो ३ः०० देखि ४ः०० बजे सम्म लिखित, मौखिक वा अनलाइन माध्यमबाट प्राप्त सुझाव र गुनासोलाई सङ्कलन गरी, आगामी महिनाको ४ गते बस्ने कार्यालय प्रमुखको बैठकमा ती गुनासोलाई प्रस्तुत गरेर समाधान गरिने प्रशासनले जनएको छ ।
प्रजिअ लम्सालद्वारा सुरु गरिएको यस कार्यक्रमले सेवाग्राही र प्रशासनबिचको दूरी घटाउने र जनताको समस्या तत्काल समाधान गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।