भनाई नै छ, लापरबाहीको उपचार हुँदैन । चाडबाडका समयमा हुने अचाक्ली सवारी दुर्घटनामा सवारी चालक र सवारी धनीसँगै यात्रु स्वयंको लापरबाही पनि उत्तिकै जिम्मेवार छ ।
काठमाडौँ । नेपालीका ठुला चाड दशैँ, तिहार र छठ नजिकै आइपुगेका छन् । काम, अध्ययन या अरु यस्तै कारणले टाढा-टाढा पुगेका परिवार जम्मा हुने, हर्षोल्लासपूर्वक चाडपर्व मनाउने नेपाली संस्कृति नै हो । यही कारण चाडपर्वका बेला यात्रा गर्ने, एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्ने क्रम ह्वात्तै बढ्छ । पछिल्लो समय चाडपर्वकै छेकोमा घुमफिर गर्ने पुस्ता विकसित भएकाले यात्राका गतिविधि थप बढेका छन् । र, यही कारण चाडपर्वकै बेला सवारी दुर्घटना पनि धेरै हुने गर्छन् ।
हुन पनि चाडपर्वका बेला नै धेरै सवारी दुर्घटना हुने गरेको आँकडाहरूले देखाउँछन् । सवारी दुर्घटनाका कारण थुप्रैले ज्यान गुमाउने गरेका छन् । घर परिवार, आफन्त, इष्टमित्र जमघट भएर चाडपर्व मनाउन भनेर खुसीका साथ घर हिँडेका व्यक्तिहरू घर नपुग्दै सदाका लागि संसारबाट बिदा हुनु परिरहेको छ । दुर्घटना हुनुमा यात्रु खासै दोषी हुँदैनन्, तर उनीहरूले नै अकालमा ज्यान गुमाउनु परिरहेको छ । त्यसको अकल्पनीय पीडा तिनका परिवार, प्रियजन र आफन्तजनले बेहोर्नुपरेको छ ।
सवारी दुर्घटना हुनुमा सडक, सवारीको अवस्था र चालकको लापरबाही नै मुख्य कारक बन्ने गरेको देखिन्छ । ठुला चाडपर्वहरू मनाउन प्रायः सबै जना आ-आफ्नो थातथलो फर्कने हुँदा न्यून संख्यामा चलेका सवारी साधनमा क्षमता भन्दा बढी यात्रु कोचेर लैजाँदा, कच्ची सडक र सवारी साधनको समयमा उचित मर्मत नगर्दा पनि सवारी दुर्घटना हुने गरेको छ ।
हुन त हरेक दिन सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या पनि उत्तिकै छ । तर चाडपर्वको बेला भने सो संख्या असाध्यै बढ्ने गर्छ । अन्य समयमा निजी सवारीको दुर्घटना दर धेरै हुने गरेको छ भने चाडपर्वको बेलामा सार्वजनिक यातायातको दुर्घटना धेरै हुने गरेको छ । चाडपर्वको बेला तुलनात्मक रूपमा थोरै सवारी साधन दुर्घटना भए पनि मानवीय क्षति भने धेरै नै हुन्छ । यो के कारणले भयो भन्ने कुरामा सम्बन्धित निकाय र सरोकारवालाहरूको ध्यान पुगेको देखिँदैन । बर्षेनी बढ्दै गइरहेको सवारी दुर्घटनाले गर्छ ।
प्रहरीको तंथ्याक अनुसार विगत ५ वर्षका अर्थात् २०७६ देखि २०८० सम्मका दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा धेरै नेपालीले अकालमा ज्यान गुमाएका छन् । प्रहरीका अनुसार २०७६ सालको दशैँ–तिहारमा मात्र ७ सय सवारी दुर्घटनामा १११ जनाको ज्यान गएको थियो ।
२०७७ सालको दशैँ र तिहारताका ८५६ सवारी दुर्घटनामा परेर ११४ जनाको ज्यान गएको थियो भने २०७८ सालको दशैँ–तिहारताका भएका ९६७ सवारी दुर्घटनामा १७३ जनाको मृत्यु भएको थियो ।
प्रहरीले उपलब्ध गराएको तंथ्याक अनुसार २०७९ सालको दशैँ र तिहारको समयमा ९३२ वटा सवारी दुर्घटनामा परी १०७ जनाले ज्यान गुमाएका थिए । त्यस्तै, २०८० मा १ हजार १५३ वटा सवारी दुर्घटनामा परी ९७ जनाको ज्यान गएको थियो ।
१० वर्षका सडक दुर्घटना, कति भयो मानवीय क्षति?
यहाँ हामीले पछिल्लो १० वर्षमा भएका सडक दुर्घटनाको वार्षिक स्थिति र त्यसमा भएको मानवीय क्षतिबारे चर्चा गरेका छौँ ।
२०७१/७२
जम्मा ९ हजार १४५ वटा सवारी दुर्घटना, १४ हजार ८३७ सवारी साधनमा क्षति ।
दुर्घटनामा २ हजार ४ जनाको मृत्यु, चार हजार ५४ जना गम्भीर घाइते ।
२०७२/७३
१० हजार १३ वटा सवारी दुर्घटना जसमा १६ हजार ५०२ सवारी साधन परे ।
२ हजार ६ जनाको मृत्यु, ४ हजार १८२ जना गम्भीर घाइते ।
२०७३/७४
१० हजार १७८ दुर्घटना, १५ हजार ५१५ सवारी साधनमा क्षति ।
२ हजार ३८४ जनाको मृत्यु, ३ हजार २५० जना गम्भीर घाइते ।
२०७४/७५
१० हजार ९६५ दुर्घटना, १८ हजार ३४ सवारी साधनमा क्षति ।
२ हजार ५४१ जनाको मृत्यु, ४ हजार १४१ जना गम्भीर घाइते ।
२०७५/७६
१० हजार ३६० सवारी दुर्घटना, २२ हजार ८७ सवारी साधनमा क्षति ।
२ हजार ७८९ जनाको मृत्यु, ४ हजार ३७६ जना गम्भीर घाइते ।
२०७६/७७
१५ हजार ५५९ दुर्घटना, २५ हजार ७८८ सवारी साधनमा क्षति ।
२ हजार २८१ जनाको मृत्यु, ४ हजार ६१५ जना गम्भीर घाइते ।
२०७७/७८
२० हजार ६४० दुर्घटना, ३३ हजार १३५ सवारी साधनमा क्षति ।
२ हजार ५०० को मृत्यु, ६ हजार ४४८ जना गम्भीर घाइते ।
२०७८/७९
२४ हजार ५३७ दुर्घटना, ३९ हजार ३७९ सवारी साधन परे ।
२ हजार ८८३ जनाको मृत्यु, ७ हजार २८२ जना गम्भीर घाइते ।
२०७९/८०
२३ हजार ५९७ दुर्घटना, ३७ हजार ३९२ सवारी साधन परे ।
२ हजार ३६८ जनाको मृत्यु, ५ हजार ७३८ गम्भीर घाइते ।
२०८०/८१
२२ हजार ९२७ दुर्घटना, ३५ हजार ४०४ सवारी साधन परे ।
२ हजार ३६९ जनाको मृत्यु, ६ हजार १६० जना गम्भीर घाइते ।
अर्थात् समग्रमा पछिल्ला १० वर्षमा १ लाख ६० हजार ९२७ वटा सवारी दुर्घटना भएको, त्यसमा २ लाख ५८ हजार ७१३ सवारी साधन परेको र त्यो अवधिमा भएका दुर्घटनामा २४ हजार ९५ जनाले ज्यान गुमाएको देखिन्छ । यही अवधिमा भएका दुर्घटनामा ५१ हजार २४८ जना गम्भीर घाइते भए ।
चाडपर्वमै किन दुर्घटना ?
काठमाडौँ या ठुला शहरमा बस्नेहरू चाडपर्वको बेला आफू जन्मेको पुर्ख्यौली थलोमा जाने क्रम धेरै हुने गर्छ । त्यस बेला सवारी साधन नियमित भन्दा कम चल्ने, मानिस धेरै र सवारी साधन कम हुने भएकाले पनि दुर्घटना हुने गरेको छ । चालक, सवारी साधन, यात्रु, सडकको पूर्वाधार र मौसमको कारण पनि दुर्घटना हुने गरेको ट्राफिक प्रहरीका एक अधिकृतले बताए ।
हरेक वर्ष दशैँ र तिहारको समयमा बढी सडक दुर्घटना हुने क्रम बढेको बताउँदै ती अधिकृतले भने, “चालकको लापरबाही र सडक तथा सवारी साधनको अवस्थाले दुर्घटना हुने गरेको छ ।”
उनका अनुसार चालकले नियम नमान्ने, जथाभाबी ढोका खुल्ला राख्ने, ओभरटेक गर्ने, तीव्र गतिमा सवारी हाँक्ने, लामो समय एउटै व्यक्तिले गाडी चलाएर चालक निदाउने समस्याले दुर्घटना हुने गरेको छ । त्यस्तै, मादक पदार्थ सेवन र मोबाइल प्रयोग गरेर सवारी साधन चलाउने गरेका कारण पनि दुर्घटना हुने गरेको ती अधिकृतले बताए ।
हुन त सवारी साधनको यान्त्रिक गडबडी, ओभरलोड, ब्रेक फेल, टायर पंक्चर, सवारीको बत्तीलगायतका विभिन्न कारणले पनि दुर्घटना हुने गर्छन् । चढ्दा र ओर्लँदा ख्याल नगर्ने, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपुर्याउँदा पनि दुर्घटना बढिरहेको ट्राफिक प्रहरीमा समेत काम गरिसकेका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जीवन कुमार श्रेष्ठ बताउँछन् । सडकका खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमै राखिने निर्माण सामग्री, उकालो–ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडकलगायतका कारण पनि सवारी दुर्घटना हुने गरेको श्रेष्ठले बताए ।
एकै पटक नेपालभर रुट अनुमति पाएपछि नयाँ सडकमा अनुभव नभएका चालकले पनि दुर्घटना गराउने गरेको उनले बताए । “नियमित रूपमा जति सवारी साधन चल्थे, तीबाहेक साधन चाडपर्वमा थप हुँदैनन्,” श्रेष्ठले भने, “भएकै सवारी साधनहरूलाई नै म्यानेज गरेर चलाउनुपर्ने अवस्था छ । क्षमता भन्दा बढी लोड सवारी साधनमा पर्ने भएकाले पनि दुर्घटना हुने गर्छ ।” यात्रुहरू पनि अटेर गरेर मुढामा अथवा झुन्डिएर भए पनि लामो दुरीको सवारीमा चढेका कारण सवारी दुर्घटना चाडपर्वको समयमा बढी हुने गरेको उनको भनाइ छ ।
दुर्घटना हुनुमा सबभन्दा ठुलो कारक चालकको लापरबाही भएको उनको निचोड छ । सार्वजनिक सवारी चलाउने चालक मात्र नभई अन्य व्यक्तिगत सवारी चलाउने व्यक्ति पनि दुर्घटना हुनुमा जिम्मेवार रहेको, यसबाहेक सडकको अवस्था, सवारी साधनको अवस्था, नियम उल्लङ्घन, मापसे गरेर र तीव्र गतिमा सवारी चलाउने लगायतका कारणहरू दुर्घटनाका कारक तत्त्व देखिएको एसएसपी श्रेष्ठ बताउँछन् ।
कसरी न्यूनीकरण गर्ने ?
दुर्घटना न्यूनीकरणका लागि सर्वप्रथम चालक आफै सचेत हुनुपर्ने पूर्व एसएसपी श्रेष्ठ बताउँछन् । चालक आफूले कतै जान परे सवारीको अवस्था कस्तो छ, त्यसको बारेमा बुझेर मात्र गन्तव्यतिर जानुपर्ने उल्लेख गर्दै उनले भने, “नियमहरू पालना गर्नु¥यो र कानुन कार्यान्वयन गर्ने निकायहरूले कडाइका साथ कानुन लागु गर्नुपर्यो ।”
श्रेष्ठका अनुसार रुट परमिट नभएको ठाउँ, जस्तो कि बाटो बन्दै गरेका ठाउँमा सवारी साधन चलाउन दिनै हुन्न । सिट भन्दा बढी यात्रु नराख्ने र मापसे गरेर सवारी चलाउन नदिएमा सवारी दुर्घटना यसै कम हुने उनले बताए । पैदल यात्रीले पनि सडक प्रयोग गर्दा नियम पालना गर्नुपर्ने, चालकलाई तोकिएको स्थान भन्दा अन्यत्र सवारी रोक्न रोक लगाउनुपर्ने उनको भनाई छ ।
कतिपय यात्रुहरूले चालकलाई तोकिएको स्थान भन्दा अन्य ठाउँमा सवारी रोक्न कर गर्ने, त्यसो गर्न नमाने गालीसमेत गर्ने व्यवहार गर्ने भएकाले त्यस्तो व्यवहार परिवर्तन गरेर तोकिएको स्थानमा मात्र सवारी साधन रोक्नुपर्ने, अरूलाई पनि नियम पालना गर्न लगाइयो भने दुर्घटना कम हुने उनी बताउँछन् ।
‘ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न’ भन्ने नारा तथ्यमा आधारित भएकाले यो कुरालाई मनन गर्दै व्यवहार परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै, दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीबाट मात्र सम्भव नभएकाले सडक इन्जिनियरिङको कुरामा पनि ध्यान दिनुपर्ने उनले बताए । सडक राम्रो बनाउने काम सडक विभाग र स्थानीय तहहरूको भएकाले उनीहरूले समेत ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै पूर्व एसएसपी श्रेष्ठले थपे, “विभिन्न ठाउँमा ट्राफिक संकेत दिने लाइटहरू छैनन्, भएका लाइट पनि नियमित रूपमा चल्दैनन् । ट्राफिक लाइटलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकेमा पनि दुर्घटना कम गर्न सकिन्छ । लामो रुटमा सवारी चल्ने ठाउँमा कानुनले दुईजना सवारी चालक राख्नुपर्ने भने पनि त्यो अझैँ व्यवस्थित हुन सकेको छैन । यसलाई व्यवस्थित बनाएर सवारी चलाए सवारी दुर्घटनामा कमी आउँछ ।”
सरकारले यात्रुवाहक सवारी साधनमा कडाइका साथ मापदण्ड पालना भए वा नभएको अनुगमन मात्र गर्न सक्यो भने पनि दुर्घटना कम गर्न सकिने विज्ञहरू बताउँछन् । दुर्घटना कम गर्नको लागि ट्राफिक प्रहरीले ठाउँ–ठाउँमा टाइम कार्डदेखि गति नाप्ने प्रविधिसमेत प्रयोगमा ल्याएको छ । तर यसलाई सवारी चालकले नै बेवास्ता गर्ने गरेका कारण पनि दिनप्रतिदिन सवारी दुर्घटना बढिरहेको विज्ञहरू बताउँछन् ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सवारी सम्बन्धी विभिन्न कसुरजन्य कार्यहरूलाई अपराधीकरण गरेको छ । ऐनमा उल्लिखित कसुरहरूमध्ये दफा १६१ को उपदफा (१) मा उल्लिखित कसुरमध्ये ज्यान मार्ने मनसाय लिई सवारीले किची वा ठक्कर दिई ज्यान मारेको सम्बन्धी कसुर गर्ने कसूरदारलाई जन्मकैदको सजाय हुने व्यवस्था गरिएको छ ।
सोही ऐनको दफा १६१ को उपदफा (१) मा उल्लिखित कसुरमध्ये ज्यान मार्ने मनसाय लिई सवारीले किची वा ठक्कर दिएकोमा ज्यान मर्न नपाएको सम्बन्धी कसुर, दफा १६१ को उपदफा (२) मा उल्लिखित कसुर तथा दफा १६२ को उपदफा (१) मा उल्लिखित कसुर गर्ने कसूरदारलाई न्यायिक स्वविवेकमा सजाय निर्धारण गर्नुपर्ने गरी सम्बन्धित दफा तथा उपदफाहरूमा सजायको माथिल्लो र तल्लो हदको व्यवस्था गरिएको छ ।
यसैगरी, दफा १६१ को उपदफा (३) र उपदफा (५) मा उल्लिखित कसुर तथा दफा १६२ को उपदफा (३) मा उल्लिखित कसुर गर्ने कसुरदारलाई सम्बन्धित दफा तथा उपदफाहरूमा ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । साथै, सवारी सम्बन्धी कसुर गर्ने कसूरदारलाई सोही ऐनको दफा १६१ को उपदफा (४) र दफा १६२ को उपदफा (२) तथा अपराध संहिता एवम् अन्य प्रचलित कानूनबमोजिम थप सजाय हुने व्यवस्थासमेत रहेको छ ।
जन्मकैदको निश्चित सजाय हुने र ३ वर्षसम्म कैद तथा ३० हजार रुपैयाँसम्म जरिवाना हुने कसूरमा सजाय निर्धारणको प्रयोजनका लागि छुट्टै सुनुवाइ गर्नु नपर्ने भएकाले उल्लिखित कसुर गर्ने कसूरदारलाई सजाय निर्धारण गर्न छुट्टै मार्गदर्शन बनाइएको छैन ।
उल्लिखित कसुरबाहेक सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सजायको माथिल्लो र तल्लो हद तोकिएका दफा १६१ को उपदफा (१) मा उल्लिखित कसुरमध्ये ज्यान मार्ने मनसाय लिई सवारीले किची वा ठक्कर दिएकोमा ज्यान मर्न नपाएको सम्बन्धी कसुर, दफा १६१ को उपदफा (२) मा उल्लिखित कसुर तथा दफा १६२ को उपदफा (१) मा उल्लिखित कसुर तथा त्यस्तो कसुरको दुरुत्साहन, षडयन्त्र, उद्योग वा मतियार हुने कसुर गर्ने कसूरदारलाई सम्बद्ध कानुनका व्यवस्थाहरूलाई समग्रतामा विचार गरी न्यायिक स्वविवेकमा उपयुक्त सजाय निर्धारण गर्न मार्गदर्शनको लागि सर्वोच्च अदालतले यो सवारी सम्बन्धी कसुरको सजाय निर्धारण सम्बन्धी सामान्य मार्गदर्शन बनाएको छ ।