काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सरकारले नयाँ पर्यटन नीति र ऐन तथा नयाँ संस्कृति नीति तर्जुमा गर्ने कार्य अगाडि बढाएको बताएका छन् ।
४५औँ विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिँदै मन्त्री पाण्डेले पर्यटनको महत्त्वपूर्ण पूर्वाधार हवाई यातायातका लागि नेपाली आकाशलाई सुरक्षित र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाई सुरक्षा (एयर सेफ्टी) सुधारका नीतिगत र संरचनागत कामहरू अघि बढाइएको बताएका हुन् । नेपालले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि लिएका नीति, कार्यक्रम तथा प्रयासको परिणाम स्वरूप सन् २०२३ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १० लाख १४ हजार रहेको र सन् २०२४ को पहिलो महिनामा ७ लाख २२ हजार पुग्नुले यस क्षेत्रमा उत्साहको अवस्था सिर्जना भएको उनले बताए ।
‘संघ प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने पर्यटन प्रवर्द्धन र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजना सहित मन्त्रालयबाट कार्यहरू अगाडि बढेका छन्’, मन्त्री पाण्डेले भनेका छन्’, ‘पर्यटनको लाभ दुर्गम तथा ग्रामीण स्तरसम्म पुर्याउन ग्रामीण पर्यटन, पर्यावरणमैत्री पर्यटन र समुदायमा आधारित पर्यटनसँग आबद्ध गर्दै अघि बढ्न उपयुक्त देखिन्छ ।’