काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी दर्ता भएका छन् ।
प्रक्रियागत र व्यक्तिगत गरी उनीविरुद्ध ६ वटा उजुरी दर्ता भएका हुन् । संसद् सचिवालयका अनुसार उजुरीको पोका आज खोलिने छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि गत भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले सिफारिस गरेका राउतविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो । असोज ३ को समितिको बैठकले १० दिनको समय दिएर राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको थियो ।
समितिमा ८ उजुरी दर्ता भएकोमा ६ वटा प्रस्तावित प्रधानन्यायाधीश र २ वटा राजदूतविरुद्ध रहेको बताएको छ भने केही उजुरी प्रधानन्यायाधीश र राजदूतविरुद्ध संयुक्त छन् ।
संसदीय सुनुवाइ समितिको बैठक दिउसो १ बजे बस्दै छ । बैठकमा प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने कार्यक्रम रहेको छ ।