धनुषा । मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले ३४औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।
कार्यालयका प्रमुख सह-सचिव रामबहादुर कुरुवांगले आज प्रदेश प्रमुख भण्डारीलाई प्रदेश प्रमुखको सचिवालय मधेस भवनमा पुगेर आयोगको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रदेश प्रमुख भण्डारीले प्रतिवेदन ग्रहण गदै सुशासनको अभावमा समृद्ध नेपाल तथा सुखी नेपालीको अभियान पूरा गर्न नसकिने भएकाले सुशासन र आर्थिक पारदर्शीता कायम गराउनमा अख्तियारको भूमिका महत्त्वपूर्ण भएको बताइन् ।
उनले अख्तियारको प्रतिवेदनमा प्रदेशबाट अनियमिततासम्बन्धी बढी उजुरी परेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै आर्थिक अनुशासन तथा पारदर्शीता स्थापनाका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने उल्लेख गरिन्।
अख्तियारको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुवांगले अख्तियारमा मधेस प्रदेशका मात्र १० हजार उजुरी रहेको परेको उल्लेख गर्दै कुल उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसम्बन्धी भएको जानकारी दिए।
जिल्लागत रूपमा सबैभन्दा बढी उजुरी धनुषाको रहेको जनाइएको छ । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा धनुषा जिल्लाबाट मात्रै एक हजार एक सय वटा उजुरी परेका छन् । साथै सबैभन्दा कम सर्लाहीबाट छ सय नौ वटा उजुरी परेको जनाइएको छ । प्रदेशको आठ जिल्लाबाट उक्त आवमा छ हजार तीन सय २४ उजुरी दर्ता भएका छन् । नयाँ दर्ता भएका उजुरी र पुरानो उजुरी गरेर आठ हजार पाँच सय २९ रहेकामा छ हजार चार सय ७२ वटा फर्छ्यौट भएका कार्यालयको भनाइ छ ।