काठमाडौँ । रक्षा मन्त्री मानवीर राईले राष्ट्रको सुरक्षा र प्रतिरक्षामा गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। पृतनापति समन्वयात्मक बैठक २०८१ लाई सम्बोधन गर्दै मन्त्री राईले बाढी तथा पहिरोले प्रभावित भएका नागरिकहरूको उद्धारमा नेपाली सेनाले गरेको सक्रिय योगदानको प्रशंसा गर्दै उनले राष्ट्रिय सुरक्षाका संवेदनशील पक्षमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
रक्षा मन्त्रालय र नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति रहेको दुई दिनसम्म चल्ने यस बैठकको उद्घाटन समारोहमा बोल्दै रक्षा मन्त्री राईले हालसालै परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशभरको अवस्था गम्भीर बनेको उल्लेख गर्दै नेपाली सेनाले उद्धार र राहत कार्यमा पुर्याएको भूमिका अत्यन्त प्रशंसनीय भएको बताए। उनले सेनालाई अझ प्रभावकारी र तदारुकताका साथ उद्धार कार्यहरूमा सक्रिय रहन निर्देशन दिँदै संकटको समयमा सेनाले निर्वाह गर्ने भूमिकालाई विशेष महत्त्व दिइयो।
मन्त्री राईले मुलुकमा धर्म, क्षेत्र, र जातका नाममा हुने अवाञ्छित गतिविधिहरूले राष्ट्रिय एकता र सुरक्षामा गम्भीर चुनौती खडा गर्न सक्ने भन्दै अन्तर्राष्ट्रिय र क्षेत्रीय द्वन्द्वहरूले नेपालको सुरक्षा क्षेत्रमा पार्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभावको गहिरो विश्लेषण आवश्यक रहेको बताए। यस बैठकले यी मुद्दाहरूको गम्भीर समीक्षा गर्दै आवश्यक निष्कर्ष निकाल्नुपर्नेमा मन्त्री राईले जोड दिए।

बैठकमा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले बाढी र पहिरो पीडितहरूको उद्धार कार्यबारे जानकारी दिँदै, विशेष गरी कोसी, मधेस, र बागमती प्रदेशका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले पैदल तथा हवाई साधनमार्फत घाइते र अलपत्र परेका नागरिकहरूको उद्धार गरेको बताए। साथै, सेनाले बाढी पहिरोका कारण अवरुद्ध भएका सडक सञ्जालहरूलाई पुनः सुचारु गर्न स्थानीय तह र सुरक्षा निकायहरूसँग सहकार्य गरेर काम गरिरहेको पनि उनले उल्लेख गरे।
प्रधान सेनापतिले राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सम्बन्धित विषयमा नेपाली सेनाले निरन्तर अध्ययन र अनुगमन गरिरहेको जानकारी दिँदै, सुरक्षाका चुनौतीहरू सामना गर्न सेनाले सधैँ तयारी अवस्थामा रहेको बताए। यस दुई दिने बैठकले नेपाली सेनाको योजना पुनरावलोकन गर्दै साङ्गठनिक सुदृढीकरण र आधुनिकीकरणको दिशामा अघि बढ्ने उनले बताए।
पृतनापति समन्वयात्मक बैठक २०८१ मा पृतनापतिहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति र सम्पादन गरेका कार्यहरूको समीक्षा गर्दै आगामी योजनाहरूको खाका प्रस्तुत गर्नेछन्। साथै, जङ्गी अड्डाका विभिन्न विभाग, महानिर्देशनालय, र निर्देशनालयका प्रमुखहरूले पनि आ(आफ्नो जिम्मेवारीको सन्दर्भमा प्रस्तुतीकरण गर्ने कार्यक्रम छ।
यो बैठकले सेनाका विभिन्न क्षेत्रमा भएका कामहरूको समीक्षा गर्दै भविष्यका योजना र रणनीतिहरू तयार गर्ने लक्ष्य राखेको छ। प्रधान सेनापतिले यस बैठकले सेनाको आधुनिकीकरण र सुदृढीकरणका लागि महत्त्वपूर्ण योजनाहरूको अद्यावधिक गरिने पनि बताए।

बैठकमा रक्षा सचिव रामेश्वर दंगाल, रथी वृन्द, तथा रक्षा मन्त्रालय र नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति थियो। यस पृतनापति समन्वयात्मक बैठकले नेपाली सेनाको योजनाहरूलाई पुनरावलोकन गर्दै राष्ट्रिय सुरक्षाका संवेदनशील पक्षहरूमा आवश्यक रणनीतिहरू तयार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।