बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा युवामैत्री स्थानीय शासनको नयाँ अभियान सुरु भएको छ ।
एकाउन्टिविलिटि ल्याबको सहयोगमा बास नेपालद्वारा सञ्चालित लोकतन्त्रको सबलीकरण, आवाज, युवा सहभागिता र मिडिया जबाफदेहिता परियोजना अन्तर्गत बास नेपालको केन्द्रीय कार्यालय नेपालगन्जमा आयोजित युवा संलग्नता मञ्च गठन कार्यक्रममार्फत अभियानको सुरुवात भएको हो । सोमबार गठित मञ्चको संयोजकमा अन्जना चतुर्वेदी, सदस्य सचिवमा दिपीका देवकोटासहित १९ जनाको समूह रहेको छ ।
समूहको सदस्यमा ऋतिक शाही, अशोक रावल, सुमित्रा मल्ल, सोनी भाट, हिरा खत्री, मनोज घर्तिमगर, अस्लाम राई, रामु चिडिमार, प्रदिप कश्याप, नानीमाया जैसी, सन्तोषी चौधरी, पवन राज उपाध्यय, सलमान सलमानी, टेकराज जैसी, बब्लु शेष, सुमिता कुमाल लगायतका व्यक्तिहरू रहेका छन् ।
नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, पन्ध्रौँ पञ्चवर्षीय योजना, राष्ट्रिय युवा नीति २०७२, राष्ट्रिय युवा परिषद् ऐन २०७२, युथ भिजन २०२५, युवामैत्री स्थानीय शासन दिग्दर्शन २०८० निर्माण भई कार्यान्वयनमा रहेका छन् । यसले युवाको समग्र पक्षलाई सम्बोधन गर्दै शासकीय प्रक्रिया तथा प्रणालीमा उनीहरूको संलग्नताका सम्बन्धमा विभिन्न व्यवस्था गरेको अवस्था भए पनि कार्यान्वयनको तहमा भने राज्य कमजोर देखिन्छ । राष्ट्रिय युवा परिषद्ले २०७५ सालमा नै देशभरका १५ ओटा पालिकालाई छनौट गरी नमुनाको रूपमा युवामैत्री स्थानीय शासनको अभ्यास गरेको थियो ।
मञ्च गठनसँगै सहभागीहरूलाई युवामैत्री स्थानीय शासनका विषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले अभिमुखीकरण प्रदान गरे । मञ्च गठन कार्यक्रमको सहजिकरण तथा कार्य पद्धतिका बारेमा परियोजना संयोजक रवीन्द्र बोहराले जानकारी गराएका थिए । कार्यक्रममा युवाहरूलाई सक्रिय रूपमा कार्य गर्न सुझावसहित मञ्चमा चयन भएका सहभागीहरूलाई बधाई ज्ञापन गर्दै कार्यक्रमको समापन बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।