काठमाडौँ । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले विभिन्न सडक तथा राजमार्गहरू बन्द भएसँगै यात्राको एउटै विकल्प बन्यो हवाईमार्ग । तर, हवाई यात्रा पनि त्यति सहज हुन सकेन । स्थलमार्गहरु अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप अत्याधिक बढ्यो । यही मौकामा वायुसेवा कम्पनीहरूले बढी भाडा लिएको यात्रुले गुनासो गरे ।
काठमाडौँबाट भारतको दिल्ली भन्दा नेपालकै धनगढीको भाडा महँगो भएको पाइयो । दिल्ली भन्दा धनगढीको भाडा झण्डै साढे पाँच हजार रुपैयाँ बढी थियो ।
एयर इन्डियाले दिल्लीको भाडा करिब साढे ११ हजार तोकेको अवस्थामा धनगढीको भाडा साढे पाँच हजार रुपैयाँ थियो । उक्त समयमा वायुसेवा कम्पनीहरूले अनलाइन टिकट बुकिङ एपमा काठमाडौँबाट धनगढीसम्म एक यात्रुका लागि १७ हजार रुपैयाँमा टिकट बिक्रीमा राखेका थिए ।
सोही समयमा नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्लीको एकतर्फी भाडा १४ हजार ७ सय २१ तोकेकोमा धनगढीको भाडा दिल्लीको भन्दा झन्डै २ हजार ३ सय बढी रहेको थियो । देशले प्राकृतिक विपत्तिको सामना गरिरहेको र नागरिकले सास्ती खेपिरहेको बेला सबैले सहयोग गर्नु पर्ने हो । तर, विमान कम्पनीहरूले त्यसो गरेको पाइँदैन ।

चाडपर्व र विपद्का बेला अन्य क्षेत्रमा सौलियत र राहतका प्याकेज घोषणा हुने गर्दछन् । तर, हवाई उडानमा यही समयमा लुटतन्त्र हुने गरेको यात्रु बताउँछन् । हवाई सेवा प्रदायकहरूले यात्रुहरूसँग मनपरी भाडा लिएको विषयमा विमानस्थलमा वायुसेवा कम्पनी र यात्रुबिच लफडा नै भयो । काठमाडौँदेखि विराटनगरसम्मको भाडा ५ हजार ७ सय रुपैयाँ रहेकोमा एउटा एयरलाइन्सले ९ हजार ९ सय रुपैयाँ तोकेपछि लफडा भएको हो ।

वायुसेवा कम्पनीहरूले बढी भाडा लिएको विषयमा यात्रुहरूले विमानस्थलमा गरेको विरोधका भिडियोहरू सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । तर, वायुसेवा कम्पनीहरूले भने नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाअनुसार नै टिकट तयार गरेको दाबी गर्छन् ।
भाडाप्रति चौतर्फी विरोध
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल छन् ।
सडकमार्ग अवरुद्ध भएका बेला हवाइमार्ग विकल्पका रूपमा प्रयोगमा आउन सकेको छैन । विपद्का बेला वायुसेवा कम्पनीहरूले यात्रुलाई सहुलियत दिनुपर्नेमा झन् चर्को भाडा लिएको गुनासो आउने गर्छ । चाडपर्व र विपद्मा हवाई भाडामा सहुलियत तथा राहतका विषयमा वायुसेवा कम्पनीहरू चुकेका छन् । महँगो भाडाको विषयमा यात्रुबाट आएको गुनासो बारे विभिन्न निकायले चासोसमेत व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले यात्रुहरूसँग बढी भाडा नलिन एयरलाइन्सहरूलाई आग्रह नै गरे ।
हवाई भाडा अरुबेलाको भन्दा महँगो भएको गुनासो आएको भन्दै प्रधानमन्त्री ओलीले विपतको समयमा यात्रुहरूसँग सकेसम्म पहिलेको भन्दा सहुलियत मूल्यमा नभए पनि पहिलेको दरमा भाडा लिन वायु सेवा प्रदायकहरुलाई आग्रह गरेका हुन् ।

यसैगरी प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वायुसेवा कम्पनीहरूले आफू खुसी हवाई भाडा बढाउँदा नागरिकमा ठूलो असर पारेको भन्दै नियन्त्रणका लागि निर्देशन नै दियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै समितिले हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवश्यक निर्देशन दिन निर्देशानुसार अनुरोध गरेको हो ।

सत्ता साझेदार दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे समक्ष ५ बुँदे ध्यानाकर्षण पत्र बुझायो ।


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पनि हवाई भाडाको अनियन्त्रित मुल्यवृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन मन्त्री पाण्डेको ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको हो । अविलम्ब हवाई भाडाको मूल्यलाई वैज्ञानिक रूपमा नियन्त्रण, नियमन र समायोजन गर्न तथा यस विपद्को घडीमा कालोबजारी र मुल्यवृद्धिमा संलग्न हवाई यातायात सञ्चालक तथा संलग्न सबैलाई निष्पक्ष छानबिन गरी कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउन अनेरास्ववियुले मन्त्री पाण्डेसमक्ष माग गरेको थियो ।


के भन्छन् वायुसेवा सञ्चालक
हवाई भाडाका विषयमा चौतर्फी आलोचना भएपछि वायुसेवाहरू तत्कालका लागि महँगो टिकट नबेच्ने निर्णयमा पुगे ।
वायुसेवा सञ्चालक संघ नेपालले सोमबारदेखि बुधवारसम्म सरकारले तोके बमोजिमको लिँदै आएको अपर लिमिटको भाडा दरमा हवाई टिकट नबेच्ने निर्णय गरेको हो । संघले विभिन्न समस्या देखाउँदै ती समस्याहरू सम्बन्धित निकायबाट समाधान गरिएमा हवाई टिकट स्वतः सस्तो हुने प्रष्टिकरण दिएको छ ।
विपद्मा वायुसेवा कम्पनीहरूको भन्दा पनि सरकार नै जिम्मेवारी हुनुपर्ने संघका पदाधिकारी बताउँछन् । हवाई इन्धनको मूल्यमा अधिक नाफा नलिने र परल मूल्यमा नै उपलब्ध गराएको अवस्थामा फ्युल चार्ज घट्ने र हवाई यात्रुलाई टिकेटको मूल्य सस्तो पर्ने भन्दै इन्धनको मूल्य घटाइदिन संघले आग्रह गरेको छ । ल्याण्डिङ, पार्किङ, नेभिगेसन, यात्रु सेवा शुल्कलगायतका अन्य शुल्कमा छुट दिएको अवस्थामा हवाई यात्रुलाई थप राहत हुने संघले उल्लेख गरेको छ ।

‘अन्य बेलामा दुईतर्फी यात्रु हुन्छन् । तर, चाडपर्वको बेला एकतर्फी यात्रु हुन्छन् । हामीले उडान गर्दा लाग्ने लागत एउटै हुन्छ । उक्त लागतमै उडान गर्नुपर्ने हुँदा यात्रुमा बाँडिने हो । यसैले टिकट महँगो पर्न गएको हो’, वायुसेवा सञ्चालक संघका प्रवक्ता मुरलीधर जोशी भन्छन्, ‘सामाजिक उत्तरदायीत्व सबैको छ । तर, आजको दिनमा कुनै पनि एयरलाइन्स मुनाफामा छैन । कम्पनी नै नाफामा नभएको अवस्थामा उनीहरूले सहुलियत दिने विषयमा कसरी सोच्न सक्लान् ?’
अहिले पनि २०७३ सालमा बनेको नीति अनुसार काम गरिरहेको उनले प्रशासनलाई बताए । ‘०७३ सालदेखि अहिलेसम्म पार्टपुर्जा र सामानमा कति महँगाइ बढ्यो ? सरकारको तर्फबाट पनि सहुलियत प्रदान भयो भने वायुसेवा कम्पनीहरूले पनि सहजै सहुलियत दिन सक्छन्’, जोशीले भने ।
संघले अधिकतम मूल्यमा टिकट नबेच्ने निर्णय गरेको अवधिको टिकट अग्रिम विक्री भइसकेको थियो । सडक सञ्जाल अवरुद्ध रहेको समयमा दुई दिनदेखि तीनसम्मको टिकट अग्रिम बुकिङ भइसकेको अवस्थामा संघले तीन दिन अधिकतम मूल्यमा टिकट नबेच्ने निर्णय गरेको थियो ।
नेपाल सरकारले तोकेकै भाडा दरमा एयरलाइन्सहरूले यात्रुलाई उडाउने गरेको बताउँछन् बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्ण । ‘हामीले अहिले पनि सहुलियत दिएकै छौँ’, कर्णले प्रशासनसँग भने, ‘अलि अघि टिकट काट्नेले सस्तो टिकट पाउनु हुन्छ । सरकारले छुट दियो भने स्वतः यात्रुले छुट पाउनु हुन्छ ।’
तर, देश नै संकटमा परेको बेला वायुसेवा कम्पनीहरू पनि आफ्नो दायित्वबाट पन्छिन भने मिल्दैन ।
के गर्दैछन् नियमनकारी निकाय
आन्तरिक उडानतर्फ केही दुर्गम गन्तव्यमा नेपाल एयरलाइन्सका विमानले सेवा प्रदान गरिरहेका छन् भने अधिकांश सुगम गन्तव्यमा निजी क्षेत्रका वायुसेवा कम्पनीहरू बुद्ध, यति, श्री लगायतले व्यावसायिक उडान भर्ने गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार वायुसेवा कम्पनीहरूले सरकारले तोकेकै भाडामा यात्रु उडाउने गरेका छन् । माग र आपूर्तिको आधारमा विमान कम्पनीहरूले उडान गर्न पाउने ऐन र नियममा उल्लेख छ ।
हवाई नीति २०६३, नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ र नागरिक उड्डयन नियमावली २०५८ बमोजिम न्यूनतम र प्रत्येक वृत्तखण्डमा १९ सिट क्षमता भन्दा बढी सिट क्षमता भएका जहाज उडान हुने ठाउँमा न्यूनतम र अधिकतम भाडा सरकारले तोकेको छ । सरकारले तोककै भाडामा वायुसेवा कम्पनीहरूले भाडा लिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।
निजी वायुसेवा कम्पनीहरूलाई आफैँ कमाउने र आफैँ खर्च गर्ने गरी दिएको अधिकार अनुसार नै उनीहरूले काम गरिरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । तोकिएभन्दा बढी भाडा लिए कम्पनीहरूमाथि कारबाही हुने उनको भनाइ छ । नियम कानून समयानुकूल परिवर्तन हुनुपर्ने आवश्यकता रहेको र यसबारे आफूले सुझावसमेत दिएको भुलले बताए ।
हवाई भाडाका विषयमा व्यापक आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छलफललाई तीव्रता दियो । चाडपर्वकै बेला विपद् आइपरेकाले मन्त्रालय थप संवेदनशील भएर काम गरिरहेको प्रवक्ता रामकृष्ण लामिछानेले बताए ।
यात्रुबाट आएको टिकटसम्बन्धी गुनासोलाई लिएर विमानस्थलमा अनुगमन गर्दा कुनै सत्यता नभेटिएको उनको भनाई छ । ‘राहत सहुलियत के दिन सकिन्छ भन्ने विषयमा सरोकारवाला निकाय र निजी क्षेत्रसँग दुई÷चार चरणको छलफल भएको छ’, प्रवक्ता लामिछानेले भने, ‘स्थल यातायात सुचारु नभएसम्मको लागि हवाई यातायायातमा अधिकतम भाडा नलिने सहमति भएको छ ।’
सडक यातायात अवरुद्ध भएर र आन्तरिक उडान छुट्दा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुको हकमा पुरानै टिकटमा उडाउने र अतिरिक्त शुल्क नलिने सहमति भएको उनले बताए । सरकारले हवाई इन्धनमा प्रति लिटर ६ रुपैयाँ छुट दिएको छ । यो छुटसँगै न्यूनतम ५० रुपैयाँदेखि अधिकतम २ सय ६५ रुपैयाँसम्म भाडा घट्ने छ ।
त्यसो त विपद्का बेला हवाई कम्पनीहरूले कसरी काम गर्ने भन्ने विषयमा कुनै मापदण्ड र कार्यविधि बनेको पाइँदैन । हेलिकप्टर भने गृहमन्त्रीको निर्देशनमा उद्धारमा खटिने गर्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता डा. डिजन भट्टराई भन्छन्, ‘गृहमन्त्रीज्यूको निर्देशनमा प्राधिकरणले खर्च बेहोर्ने गरी हेलिकप्टर परिचालन गर्ने गरिएको छ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको विषयमा भने कुनै बाध्यात्मक छैन ।’