नयाँ दिल्ली । विश्व स्वास्थ्य सङठनको एक विशेष कार्यक्रममा सहभागी हुन भारतको राजधानी नयाँ दिल्लीमा रहेका नेपालका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
वार्तामा भारतीय पक्षले तनहुँस्थित जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई ३ सय शैय्याको अस्पतालको निर्माण र आवश्यक उपकरणसहित केही समयमा सम्झौता गर्ने जानकारी दिएको छ। यो परियोजनाले नेपालमा स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ।

भेटका क्रममा भारतीय स्वास्थ्य मन्त्री नड्डाले नेपालका स्वास्थ्य सेवा सुधारका लागि विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेष गरी ट्रमा सेन्टरको स्तरोन्नति, डायलसिस सेवा विस्तार र अत्याधुनिक स्वास्थ्य प्रविधि थप्नका लागि आवश्यक सहयोग गर्ने भारतीय पक्षको प्रतिबद्धता रहेको छ।
यससँगै, सर्पदंशका बिरामीहरूको उपचारमा सुधार, डिजिटल हेल्थ अभियान कार्यान्वयन, र एम्बुलेन्स सेवाको अभिवृद्धिमा भारतीय पक्षले थप सहयोग गर्ने आश्वासन दिएको छ।
मन्त्री पौडेलको भारत भ्रमण नेपाल–भारत स्वास्थ्य क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण रहेको विश्वास गरिएको छ।