काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दशैंअघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएको भएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन् ।
मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिए । “मैले दसैँ अगाडि भुक्तानी दिनुपर्छ भनेको थिएँ”, उनले भने, “हाम्रो मन्त्रालयले रु. आठ अर्ब ६६ करोड भुक्तानी दिन बाँकी छ । हामीले रु. पाँच अर्ब ५० करोड भुक्तानी दिइसकेका छौँ । रु. तीन अर्ब ५० करोड जति भुक्तानी दिन बाँकी छ । भुक्तानीका लागि अर्थ मन्त्रालयसँग कुरा गरेका छौँ ।”
मन्त्री दाहालले बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन महिना अगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नैपर्ने हुँदा ढिलाइ भएको बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट अझै रु. ४५ अर्ब भुक्तानी हुन बाँकी रहेकाले समयमा भुक्तानी हुन नसक्दा निर्माण उद्योग समस्यामा परेको बताए ।