काठमाडौँ । बाढी पहिरोले पर्यटन क्षेत्रमा सिजनमै नराम्रो धक्का लागेको छ । पर्यटकीय सिजनको सुरुमै आएको बाढी पहिरोले राजमार्ग अस्तव्यस्त हुँदा व्यवसायीहरूले मार खेप्नु परेको हो ।
अक्टोबर र नोभेम्बर महिनालाई पर्यटकीय सिजन मानिन्छ । सिजनमा अत्यधिक ‘ह्यापनिङ हब’ मानिँदै आएका सौराहा, पोखरा, भैरहवा लगायतका पर्यटकीय गन्तव्यका होटेलहरूको अकुपेन्सी २० प्रतिशतभन्दा कम छ । त्यति मात्र होइन, पर्यटकले बुकिङ पनि ‘पोस्टपोन्ड’ र रद्द गर्न थालेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले जनाएको छ ।
‘भारतबाट स्थल मार्ग हुँदै आउने पर्यटकमा कमी आएको छ । स्थल मार्ग हुँदै आउने पर्यटकहरूले अन्य क्षेत्रमा भ्रमणमा जान चाहेको भन्दै बुकिङसमेत रद्द गर्न थालेका छन्’, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का सचिव विष्णु पाण्डे भन्छन्, ‘भ्रमणलाई पोस्टपोन्ड गर्न थालेका छन् । पोस्टपोन्ड गरेपछि पछि नेपाल नआएर उनीहरू अन्य गन्तव्यमा जान सक्ने सम्भावना छ । सिजनकै अक्टोबर र नोभेम्बर महिना नाजुक अवस्थामा छ ।’
केही समय अघि भएको हेलिकप्टर र विमान दुर्घटनाले नकारात्मक सन्देश दिएको बेला बाढी पहिरोले पर्यटन क्षेत्रलाई थप नकारात्मक धक्का दियो । सिजनमै बाढी पहिरोले सडक मार्ग अस्तव्यस्त बनाएपछि नेपाल भ्रमणको तालिका बनाएर बसेका कतिपय पर्यटक अलमलमा छन् ।
क्षेत्रिय होटेल संघ चितवनका अध्यक्ष गंगा गिरीका अनुसार गत वर्षको तुलनामा अहिले १० प्रतिशत पनि व्यापार छैन । ‘चितवन आउनका लागि हवाई टिकट पाइँदैन । सडक मार्ग पनि अस्तव्यस्त छ’, उनले भने, ‘हामीले होटेल चलाउन सक्ने भए पनि पर्यटक आउने स्थिति नै भएन ।’
सौराहाका आधा दर्जन जति होटलमा बाढी पसेकाका कारण सफाइ गरेर चलाउनका लागि समय लाग्ने देखिएको छ । ‘सौराहा नै पुरै डुब्यो भन्ने खालको सन्देश गयो । जसका कारण बुकिङहरू रद्द हुन थाले’, गिरी भन्छन्, ‘चितवन आउनका लागि दिनको २ हजार जनाले काठमाडौँमा खुट्टा उचाल्नु भएको छ । तर, यातायात सहज नहुँदा उहाँहरू आउन सक्नु भएको छैन ।’
सरकार पहल नै गर्दैन
पर्यटनको विकास समग्र आर्थिक, सामाजिक क्षेत्रसँग जोडिएको छ । आर्थिक सर्वेक्षण अनुसार नेपाल आउने पर्यटकमध्ये करिब ६७ प्रतिशत बिदा मनाउन आउने गर्दछन् । यस्तै १०.३ प्रतिशत पर्वतारोहण तथा पदयात्राका लागि, ७.४ प्रतिशत तीर्थयात्राका लागि र १५.५ प्रतिशत अन्य प्रयोजनका लागि नेपालमा आउने गरेका छन् ।
स्वाभाविक रूपमा आवतजावतका लागि पहिलो र अनिवार्य क्षेत्र हो, यातायात । हाम्रा अधिकांश सडक पर्यटकमैत्री मात्र होइन, गाडी गुडाउन पनि लायक छैनन् । छोटो दूरीको यात्राका घन्टौँ समय खेर गइरहेको छ ।
काठमाडौँबाट प्रायः सबैजसो पर्यटकीय गन्तव्यमा सडकबाट नै पुग्नुपर्ने अवस्था छ । सडकबाट जाँदा ज्यानको जोखिम एकातिर छ भने अर्कोतिर नियमित समयभन्दा दोब्बर बढी लाग्ने समय लाग्ने गरेको छ । काठमाडौँदेखि २०० किलोमिटर दूरीमा रहेको प्रमुख पर्यटकीय गन्तव्य पोखरा पुग्नै सामान्य अवस्थामा आठ दश घन्टाजति लाग्छ ।
पर्यटकीय गन्तव्य सौराहा र लुम्बिनी जाने सडक मार्गको अवस्था पनि नाजुक नै छ । घुम्न, रमाइलो गर्न आउनेहरूले त्राहीत्राही भएर यात्रा गर्नुपर्ने स्थिति छ । खुम्बु क्षेत्रमा पर्यटकको समयमै उद्धार हुन सकेन भने काठमाडौँको लाइफलाइन मानिने पृथ्वी राजमार्गमा धेरै गाडी बीच बाटोमा फसे ।
नेपाल राम्रो छ, नेपाली राम्रा छन् । तर, अप्ठ्यारो पर्दा समयमा उद्धार गर्दैनन् भन्ने सन्देश विश्वमा फैलाउने नै पर्यटकले हो । विपदमा सरकारले तदारुकताका साथ काम नगर्दा नकारात्मक सन्देश जाने गरेको व्यवसायीहरूको गुनासो छ ।
‘लुक्लाका लागि रामेछापबाट उडान हुन्छ । विपद्का बेला सरकारले काठमाडौँ लुक्ला उडान गर्न सक्थ्यो । तर त्यसो गरेन । पर्यटक रामेछापमा नै अलपत्र परे । रामेछाप जाने बाटो सहज नहुँदासम्म काठमाडौँबाट लुक्ला उडाउन सकिन्छ । तर, यसतर्फ सरकारले सोचेन,’ नाट्टाका सचिव पाण्डे भन्छन्, ‘सरकारले समयमा निर्णय लिन नसकेको असर अर्को सिजनमा पर्छ । यात्रामा कठिनाइ भयो भन्ने म्यासेज जान नदिनका लागि राज्यको तर्फबाट हुन सक्ने समन्वय, सहजीकरण र नीतिगत निर्णय तत्काल हुनुपर्छ । तर त्यसो भएको पाइँदैन । यसले अभिभावक नभएको जस्तो अनुभूति हुन्छ ।’
बाढी पहिरो प्रभावितको उद्धारका लागि मन्त्रालय र विभागमा तारनतार फोन गर्दा पनि रेस्पोन्स नभएको उनको गुनासो छ । ‘नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सूचनाका विषयमा पत्राचार नभएका कारण काम गर्न नसकेको भन्ने जवाफ आउँछ । सहजीकरणमा यो गैरजिम्मेवारपन हो’, उनले भने ।
अर्कोतर्फ पर्यटन मनोरञ्जनको व्यवसाय हो । त्यसैले सुरक्षा बलियो भएको अवस्थामा मात्रै पर्यटनले गति लिन्छ । असुरक्षाको भावना छ र डर त्रास छ भने त्यस्तो ठाउँमा जाने पर्यटकको संख्यामा ह्वात्तै कमी आउँछ ।
सुरक्षाको प्रत्याभूति सरकारले दिलाउनु पर्छ । यसका लागि समयमै सूचना प्रवाह गरेर हुन्छ कि, उद्धारमा तदारुकता देखाएर हुन्छ कि ? वा सावधान रहने प्रबन्ध मिलाएर हुन्छ । यो सरकारको दायित्व पनि हो । तर, सरकार यसमा चुकेको छ ।
छैन क्षतिको विवरण
पर्यटन दशकको रणनीतिक योजनाले सन् २०२५ सम्म नेपालमा वार्षिक २५ लाखभन्दा बढी पर्यटकको संख्या पुग्ने प्रक्षेपण गरेको छ । पर्यटन दशक (सन् २०२३–२०३२) को कार्यान्वयनका लागि बनाएको कार्य योजनामा सन् २०३२ मा पुग्दा वार्षिक ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।
सन् २०२३ मा १० लाख १५ हजार पर्यटकले नेपाल घुमे । यस्तै, २०२४ को सेप्टेम्बरसम्म ८ लाख १६ हजार ६३९ पर्यटक नेपाल आएका छन् ।
सरकारले चालु आर्थिक वर्ष २०८१-८२ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्यटन दशककै अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने सरकारी योजना छ ।
नयाँ घोषणा गर्न र योजना बनाउन सरकारी निकायले कन्जुस्याइँ गर्दैनन् । तर, तिनको कार्यान्वयनको अवस्था भने निकै फितलो छ । यसको उदाहरण बाढी पहिरो गएको दुई साता हुँदा पनि क्षतिको यकिन विवरण छैन ।
बाढी पहिरोले सडक अस्तव्यस्त हुँदा बाहिर नराम्रो सन्देश गएको छ । यसलाई सरकारले चिर्ने पहल गरेको छैन । विभिन्न देशले ट्राभल एडभाइजरी जारी गरी नेपाल भ्रमणमा सावधानी अपनाउन आग्रह गर्दा नेपाल सरकारले तत्कालै आफ्नो अवस्था स्पष्ट पार्नु पर्थ्यो । त्यसतर्फ पनि सरकारी अधिकारीहरूको ध्यान गएन । आफ्नो कमजोरी लुकाउन उल्टै सरकारी अधिकारीहरू ‘प्राकृतिक विपद् जहाँ पनि आउँछ’ भन्न भ्याउँछन् ।
सडक यातायात अवरुद्ध हुँदा हवाई यातायात व्यवस्थापन गर्ने र सुचारु राख्ने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हो । ‘दसैँ आएकै बेला विपद् पनि निम्तियो । हवाई उडानमा चाँप बढ्यो । यो समयमा बिहान साढे ४ बजेदेखि राति १ बजेसम्म डोमेस्टिक फ्लाइट भएको छ । इतिहासमै सबैभन्दा धेरै दैनिक ३५ हजारले यात्रुले यात्रा गरेका छन् । टिकट पनि सरकारले तोकेकै मूल्यमा बिक्री भएको छ’, मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछाने भने ।
पर्यटन विभागका अनुसार वर्षाले सडकहरू भत्किँदा ट्रेकिङमा जानेहरूका लागि समस्या भएको छ भने होटेल रेस्टुरेन्टको लगानीमा असर परेको छ । अहिले क्षतिको तथ्याङ्क सङ्कलनको कार्य भइरहेको विभागले जनाएको छ ।
‘यस्ता विपद्का घटनाबाट पाठ सिकेर भोलिका दिनमा प्राकृतिक प्रकोपको सम्भावना भएका स्थानमा संरचना बनाउँदा विशेष ध्यान दिनुपर्छ । वातावरण परीक्षा गर्ने, भौगर्भिक अध्ययन गर्नुपर्ने देखिएको छ’, पर्यटन विभागका महानिर्देशक डा.नारायण रेग्मी भन्छन्, ‘भएका मापदण्डलाई पूर्ण कार्यान्वयन गर्नुपर्छ सरोकारवाला निकायले सहयोग गर्नुपर्छ ।’ अन्तर्राष्ट्रिय समुदायमा नेपाल सुरक्षित छ भन्ने सन्देश सबै मिलेर दिनुपर्ने उनको भनाइ छ ।
बाढी पहिरोबाट प्रभावित भएका पर्यटन उद्योगलाई सहुलियत दिने विषयमा विभिन्न निकायसँग समन्वय गरेर काम गरिरहेको पर्यटन मन्त्रालयका प्रवक्ता लामिछानेले जानकारी दिए ।