‘मन’को अर्थ र अवस्थिति
वास्तव मै ‘मन’ भनेको के हो ? मानिसको शरीर देखिन्छ, इन्द्रियहरू देखिन्छन् तर विचार, ‘मन’, बुद्धि, आत्मा जस्ता पक्षहरू बाहिरबाट देख्न सकिँदैन । मस्तिष्क एवम् यसका अवयवहरू देख्न सकिन्छ तर विचार सृजना हुने तरिका या ‘मन’ देख्न सकिँदैन । साधारण आँखाबाट ‘मन’लाई देख्न सकिँदैन । तर यसको बारेमा चर्चा भने धेरै हुने गर्छ ।
नेपाली शब्द कोषले ‘मन’लाई प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार संकल्प, विकल्प आदिलाई नियन्त्रित वा परिचालित गर्ने अन्तस्करणको अंश वा वृत्ति हो भनेर अर्थ्याएको छ ।
महाभारत कथामा यक्ष र युधिष्ठिरको संवादमा एउटा प्रश्न ‘मन’सँग सम्बन्धित छ । यक्षले युधिष्ठिरलाई सोध्छन्, ‘वायुको भन्दा तीव्र गति के को छ ?’ युधिष्ठिरले ‘मन’को भनेर जवाफ दिन्छन् । यो ‘मन’ त जता पनि जान्छ । ‘मन’ चलायमान हुन्छ नै । अस्थिर पनि हुन्छ । व्यासले पनि ‘मन’लाई तलमाथि धर्म पाप दुवै तिर बहने स्वभावको हुन्छ भनेका छन् ।
भनिन्छ, मानिसलाई यही ‘मन’ले नियन्त्रित गर्छ । मनले जता भन्यो शरीरलाई त्यता लैजान्छ अर्थात् चलाउँछ । यो नदेखिने ‘मन’ कति शक्तिशाली होला जो नदेखिएर नै यत्रो शरीरलाई निरन्तर रूपमा चलाइराख्ने । आखिर यस्तो ‘मन’ शरीरको कुनचाहिँ भागमा रहन्छ होला ?
यो ‘मन’ मस्तिष्कमा रहन्छ कि मुटुमा रहन्छ ? ‘मन’ शरीर भित्र रहने अदृश्य पक्ष त हो तर यसको खास निवास स्थान कुन हो त ? यसबाट विचार उत्पन्न हुन्छ भन्ने गरिन्छ । कोही विद्वानहरू ‘मन’ मस्तिष्कमा रहन्छ भन्छन् भने कसैले ह्रदय अर्थात् मुटुमा रहन्छ भन्छन् ।
‘मन’ त मस्तिष्क भित्र हुन्छ भन्नेमा सबैको एकमत छ नै । के ‘मन’ र आत्मा एकै हुन ? ‘मन’ मानिसको शरीर भित्रकै कृया भए तापनि यसको शरीरसँगको सम्बन्ध के त ॽ यसैगरी ‘मन’ र आत्माको शरीरसँग कस्तो सम्बन्ध छ त ? ‘मन’बाट विचार सृजना हुन्छ भनिन्छ । आत्माको भूमिका के छ त विचार सृजना गर्नमा ?
गीताको दोस्रो अध्यायको सोह्रौँ श्लोकमा श्रीकृष्णले अर्जुनलाई शरीर र ‘मन’ फरक हुन् भनेर यसरी बताएका छन् (प्रभुपाद, १९९७ ) ।
“नासतो विद्यते भावो नाभावो विद्यते सत:।।
उभयोरपि दृष्तीSन्तस्त्वनयोस्तत्र्वदर्शिभि:।।
असत वस्तु (भौतिक शरीर) को कुनै चिरस्थायीत्व छैन सत् वस्तुको (आत्माको) कुनै परिवर्तन हुदैन् । आत्मा र शरीर यी दुबैका प्रकृतिको अध्ययन गरेर तत्तवदर्शीहरुले यस्तो निष्कर्ष निकालेका छन् ।
यसैगरी अध्याय ३ को श्लोक ४२ मा शरीर (कमेन्द्रियहरु), इन्द्रिय, मन, बुद्धि र आत्माको बारेमा बताइएको छ । इन्द्रिय पछि आउने विचार मनको कारण हो भनेर सोभन्दा पनि पर बुद्धि र आत्मा हुन्छ भनेर यही आत्मालाई अजर अमर हुन्छ भनेर उल्लेख गरिएको छ ।
“इन्द्रियाणि पराण्याहुरन्द्रियेभ्य: परंमन:।।
मनसस्तु परा बुद्धियौ बुद्धे: परतस्तु स:।।
अर्थात् जड पदार्थ भन्दा कर्मीन्द्रियहरु श्रेष्ठ छन्। ती इन्द्रियहरूभन्दा मन श्रेष्ठ छ, बुद्धि मनभन्दा अझ श्रेष्ठ छ र त्यो (आत्मा) बुद्धिभन्दा पनि श्रेष्ठ छ (प्रभुपाद, १९९७ ) ।
एकाहार्ट टोलले आफ्नो द पाओर अफ नाउ भन्ने पुस्तकमा ‘मन’ के हो भन्ने बारेमा सविस्तार व्याख्या गरेका छन् । ‘मन’ को अर्थ बताउन उनले यसको समयसँगको सम्बन्धलाई उजागर गरेका छन् । ‘मन’ र समयको अन्तरसम्बन्ध मसिनोसँग केलाएका छन् । उनी प्रश्न गर्छन्, ‘यदि यस पृथ्वीमा मानिस नभएको भए समय हुन्थ्यो कि हुन्नथ्यो होला ?’ मानिसको अनुपस्थितिमा समयको बारेमा अहिले जसरी व्याख्या र विवेचना हुन्थ्यो होला र ? यही ढँगको अनुभव पनि गरिन्थेन होला । फेरी अनुभव पनि कसले गर्ने ? मानिस नभएको पृथ्वीमा बोट बिरुवा र अन्य जनावरले समय भनेको के हो भनेर प्रश्न सोध्थे र बताउने गर्थे होला र ?
एकहार्ट टोलले ‘मन’ र समयको बारेमा दिएको अर्थ र व्याख्यामा स्टेफेन हकिँगको सन्दर्भ उठाएका छन् । किनकि स्टेफेन हकिँगले समयको अर्थ बताएका छन जसलाई एकहार्ट टोलले नमिलेको भनिदिए । स्टेफेनले ‘मन’को परिभाषा बताएका होइनन् कि यिनले त समय बताए । तर एकहार्ट टोलले ‘मन’ र समय दुवैको अर्थ परिभाषा बताइ यिनको बीचको सम्बन्ध पनि केलाउन भ्याए ।
एकाहार्ट भन्छन्, समय र ‘मन’ एक अर्कासँग अभिन्न छन्, यिनलाई एक अर्काबाट अलग गर्न सकिँदैन । ‘मन’ समय विना रहन सक्दैन । यो ‘मन’ त वर्तमान मात्र होइन, अतीत र भविष्य विना पनि क्रियाशील हुन सक्दैन । उनले सारमा भनेका छन् समय वर्तमान हो । मानिस अर्थात् उसको मन अतीत र भविष्य विचरण गरिरहने हुनाले चिन्ता, तनाव, बोझ, लोभ, दुख आदिमा पुग्छ ।
मनोविज्ञान वेत्ता फ्रायडले ‘मन’लाई तीन भागमा बाँडे । उनका अनुसार सचेतन भागले ‘मन’को दशाँश ओगटेको हुन्छ भने अचेतनको हिस्सा ९० प्रतिशत जति रहन्छ । अर्धचेतन वा पूर्व चेतन यी दुईको बीचमा रहन्छ जसलाई मनुष्यले चाहेमा प्रयोग गर्न सक्छन् ।
फ्रायडले कार्यका अनुसार ‘मन’लाई इद (मल-प्रवृत्ती), इगो (अहम्) र सुपर-इगो (विवेक, परम अहम्) मा वर्गीकरण गरेका छन् । उनका अनुसार ‘मन’ भनेको अनुभव, इच्छा, विचार, संकल्प आदिलाई नियन्त्रण वा परिचालन गर्ने तत्व हो ।
द आर्ट अफ लिभिङबाट प्रकाशित रविशंकरबाट प्रदत्त व्याख्यान अष्टावक्र गीताको ३२ औं अध्यायमा परमानन्दको अनावरण शीर्षक अन्तरगतमा हरेक व्यक्तिको शरीरको तहमा मल (अशुद्धता), मनको तहमा क्षोभ (मनमा उठ्ने द्वन्द्वात्मक विचारहरु) र बुद्धिको तहमा विक्षेप (मन तथा अस्तित्वको बीचमा रहने खोल वा पर्दा) रहन्छन् । यी तीन प्रकारका अशुद्धता अर्थात् खोलहरुले व्यक्तिमा रहेको परमानन्दलाई ढाकेको हुन्छ । उनले चेतनालाई मन र बुद्धिभन्दा पनि पर रहने विषयको रुपमा व्याख्या गरे । मानिसभित्र रहेको आत्मा, अस्तित्व, भन्ने चेतना ज्ञानको विषय हो । आत्मा भनेको ज्ञानको विषय हो । आत्मा भनेको ज्ञानलाई बुझ्ने तत्व हो । (रवि शंकर, २०७२)
यसैगरी सोहि अष्टावक्र गीताको अध्याय २० ब्रह्रमा विश्राम गर शीर्षकमा सृष्टि पाँच प्रकारका तत्वहरु (पृथ्वी, जल, आकाश, अग्नी र वायु) ले बनेको छ । तर मानिसको शरीर यिनै पाँच तत्वहरु, सात धातुहरु (रस-रगतमा हुने प्लाज्मा, रक्त-रगत, मांस-मासु, मेदा-बोसो, अस्थी-हाड र मज्जा-हाडभित्र हुने रसिलो पदार्थ) र तीन गुणहरु (सत्वगुण, रजोगुण र तमोगुण) र तीन दोषहरु (बाथ, पित्त र कप) बाट बनेका हुन्छन् । पूरा ब्रह्माण्ड पाँचओटा तत्वहरु तथा मन, बुद्धि र अहम् गरी आठ ओटा प्रकृतिबाट बनेको हुन्छ । रवि शंकरका अनुसार आत्मा भने अहम्, बुद्धि र मनभन्दा अलग हुन्छ । यो आत्मा भन्ने विषय साधारण मानवीय ज्ञानदेखि परको विषय हो । मनभन्दा पर बुद्धि, बुद्धिभन्दा पर अहम् र अहमभन्दा पर आत्मा हुन्छ ।
कुनै जनावरलाई डोरीले बाँधेर चौरमा छोड्ने हो भने उक्त जनावर डोरीले भ्याउने स्थानसम्म मात्र घुम्न सक्छ । सो घेराभन्दा पर जान सक्दैन । मानिसको मन पनि यस्तै हो । बाँध्न सक्ने हो बाँधिन्छ, विना लगाम छोड्ने हो भने मन जतातिर पनि बहकिन्छ । मनलाई लगाम लगाएर चाहेको दिशामा डोर्याउन सकिन्छ । एकहार्टका अनुसार मनलाइ मानिसले नियन्त्रणमा राख्न सक्ने रहेछ । फेरी मनले मानिसलाइ पनि सजिलै नियन्त्रणमा लिन सक्दछ । यो त मोबायल फोन जस्तो पो रहेछ ।
मनलाई नियन्त्रणमा राख्ने तरिका वा उपाय बताउने धेरै पुस्तक लेखिएका छन् । मनोविज्ञान अन्तर्गत गरिने परामर्श यसमा उपयोगी हुनसक्ने बताइएको छ । यहि वातावरणमा उपलब्ध भएका ज्ञान, उपाय, मूल्य, मान्यता, अभ्यास र साधना नै मनलाई निर्देशित एवम् नियन्त्रित गर्ने साधन हुन् । यीनका बारेमा लेखिएका पुस्तक यस संसारमा के कति छन भन्न त नसकिएला तर एकहार्ट टोलको ‘द पाओर अफ नाउ’ भन्ने पुस्तक मानिसको ‘मन’ रुपान्तरण गर्ने उपयोगी हुनसक्ने देख्दछु । यसलाई पढेर मात्र पुग्दैन । जसले आत्मसाथ गर्न सक्यो उसैले परिवर्तन गर्ने त हो ।

वर्तमानको शक्ति
‘द पाओर अफ नाउ’ एक्हार्ट टोलको पुस्तक हो, जसलाइ सिकाइ समूहले भरखरै नेपालीमा उल्था गरेर ‘वर्तमानको शक्ति’ नाममा पनि प्रकाशित गरेको छ । ‘द पाओर अफ नाउ’ विश्वमा करोडौं प्रति बिक्रि भएको पुस्तक हो । यस पुस्तकलाई आध्यात्मिक रूपान्तरणको सरल मार्ग समेटेको पुस्तकको रूपमा लिइएको छ । सिकाइ समूहले प्रकाशित गरेको यस पुस्तकलाइ नेपाली भाषामा अनुवाद रोशन दाहालले गरेका छन भने सम्पादकमा छत्र कार्की र सुदर्शन घिमिरे रहेका छन् । यस पुस्तक सिकाई समूहले सम्बत २०८१ मा पहिलो संस्करणका रुपमा प्रकाशन गरेको छ ।
वर्तमान क्षणप्रति जागरुकता गराउनु वा रहनु नै ‘वर्तमानको शक्ति’ पुस्तकको मूल मर्म हो । मन चञ्चल स्वभावको हुने भएकोले अतितको याद र भविष्यको चिन्तातर्फ लगातार आकर्षित भइरहन्छ । मानिसको मन विचलित हुने हुनाले जीवनमा दुख निर्माण गर्न यसैले भूमिका खेलेको हुन्छ । यतातर्फ ध्यान नदिइ वर्तमान क्षणमा बाँच्न सकिन्छ भनेर पुस्तकले मार्गदर्शन गरेको छ । के कति लिन सक्ने भन्ने विषय पाठक र अभ्यासकर्तामा भर पर्ने होला ।
पुस्तक प्रश्नोत्तरका रुपमा लेखिएको हुनाले अझ पठनिय छ । यसबाट विषयवस्तु पढ्न मात्र नभइ बुझ्नलाइ पनि थप सजिलो बनाएको छ ।
‘द पाओर अफ नाउ’ पुस्तक शुरुमा क्यानडामा प्रकाशित भएको हो, जुन अहिलेसम्म ३० भन्दा बढि भाषामा प्रकाशित भइ सकेको छ । अहिलेसम्म २० लाख प्रतिभन्दा बढि बिक्रि भइसकेको छ ।
‘वर्तमानको शक्ति’ पुस्तकमा जम्मा १० ओटा अध्यायहरु रहेका छन् । अध्याय एक ‘मन तपाईको वास्तविक स्वरुप होइन’ रहेको छ भने अध्याय दुई र तीन क्रमशः ‘पीडाबाट मुक्तिको मार्ग’ र ‘वर्तमानमा गहन विश्लेषण’ रहेको छ । अध्याय चार ‘वर्तमानलाई वेवास्ता गर्ने मनको रणनीति’, अध्याय पाँच ‘जागृत उपस्थिति’, अध्याय छ ‘आन्तरिक शरीर’, अध्याय सात ‘अप्रकटको प्रवेशद्वार, अध्याय आठ ‘परम चैतन्ययुक्त सम्बन्ध, अध्याय नौ ‘शान्ति, सुख र दुःख भन्दा पर’ र अध्याय दश ‘समर्पणको अर्थ’ शीर्षकहरु रहेका छन् ।
यी दश अध्यायभत्रि ७८ ओटा शीर्षक (उपशीर्षक)मा लेखक अर्थात एकहार्ट टोलले आफ्ना विचार पस्केका छन् । यी उपशीर्षकमा समेटिएका विचारहरुलाई पूर्णरुपमा आत्मसाथ गर्न सकेमा पुस्तक जीवनभरको साथी बन्ने निश्चित छ भनेर लेखकले ठोकुवा गरेका छन् ।
एकहार्ट टोलले मनलाई आफ्नो चिनारी नमान्न सल्लाह दिन्छन् । यदि व्यक्तिले यसो गर्न सक्यो भने चैतन्य प्राप्तिको मार्गमा पहिलो पाइला चालेको हुन्छ, उनी भन्छन् । विचार र चेतना समानार्थी होइनन् । उनका अनुसार विचार भन्दा माथी उठ्न सक्नु नै परम चैतन्यको अवस्था हो । अधिक व्यक्ति संवेगको तहमा रहन्छन् । मन र शरीरको मिलनबाट संवेग उत्पन्न हुन्छ । यो क्रिया प्रतिकृयाको रुपमा बाहिर प्रकट हुन्छ ।
एकहार्ट भन्छन, मन र समयलाइ एक अर्काबाट अलग गर्न सकिंदैन । यही मनले विगतका सम्झनाहरु ल्याइदिन्छ, सोहि समयमा भविष्यको कल्पनामा पनि लैजान्छ । अतित र भविष्यतिर बहकिने मनलाई वर्तमानमा कसरी अड्याउने त ? यो काम गर्न सकिन्छ भन्छन उनी । यसो सुन्दा यो काम सजिलो जस्तो लागे पनि साधना तथा अभ्यास बिना यस काम सम्भव होला जस्तो लाग्दैन । अझ उनले एक कदम अगाडी बढेर ‘समय वर्तमान हो’ भन्ने दार्शनिक उत्तर दिन्छन् ।
मनले विगत देखिका दुःखहरु संग्रह गरेर राख्दछ । वर्तमानमा बाँच्न नसक्दा यस्तो सङ्ग्रहित दुःखले थप पीडा दिन्छ । मनको तहमा सङ्ग्रहित दुःखलाई यसको तहबाट समाधान गर्न सकिंदैन । यस्ता मानसिक रुपमा उत्पन्न भएका संवेगहरुलाई आत्म निरीक्षणद्वारा घटाउन सकिन्छ ।
पुस्तक अध्ययन गर्दा एकहार्ट टोलले भन्नु भएको चैतन्यबोध र गीतामा श्रीकृष्णले अर्जुनलाई बताउनु भएको आत्माको बीचमा तादाम्यता पाइन्छ । गीतामा कर्मेन्द्रिय, इन्द्रिय, मन, बुद्धि र आत्माको बारेमा बताइएको छ । आत्माको तहमा प्रवेश गर्न वा यसलाई बुझ्न बुझाउनका लागि मनलाई स्थिर राख्न सक्नुपर्छ । चैतन्यबोधलाई शब्दले व्याख्या गर्नेभन्दा पनि अनुभव गर्ने, आत्मसाथ गर्ने विषय हो भन्छन् एकहार्ट टोल । यो त महसुस गर्ने विषय हो जुन हरेक व्यक्तिभित्र सारतत्वको रुपमा रहेको हुन्छ ।
वर्तमानको शक्ति पुस्तक अध्यात्ममा मात्र केन्द्रित छैन । यसले दर्शन समेत बोकेको छ । दार्शनिक डेकार्तिसको ‘म सोंच्छु त्यसैले म छु’ अनि ‘मैले मूलभूत सत्य प्राप्त गरें’ भन्ने भनाई जहाँ विचार र चैतन्यलाई समकक्षी मानिन्छ । उनको यस भनाइ र धारणालाई एकहार्ट टोलले गल्ती भनेर भनेका छन् । मन, विचार र परम चैतन्यको सम्बन्ध रहेकोले विचार भन्दा पर आत्मा छ परम चैतन्य छ उनले भनेका छन् ।
पुस्तकका बारेमा मेरो अनुभव
कोभिड १९ को कारण मुलुक लकडाउनमा परेको समयमा सम्मत २०७७ को शुरूवाततिर द पाओर अफ नाउ पुस्तक (अंग्रेजी संस्करण) पढेको थिएँ । पढ्दै जाँदा पुस्तक उपयोगी हुने लागेको थिएँ । कुनै सन्दर्भमा सुदर्शन घिमिरेजीले यस पुस्तकको प्रसँग उठाउँदा केही मात्रामा पढेँ भनेको याद घुरमैलो रूपमा मेरो दिमागमा आउँछ । उक्त समयमा एक पटक पढेको पुस्तक पुन दोहोर्याएर पढ्नु पर्ला भन्ने लागेको थियो । तर पढ्न भ्याएको थिइन् ।
असारको मध्य समयमा मित्र सुदर्शन घिमिरेजीले पुस्तकको नेपाली संस्करण आएको बताउनु मात्र भएन, एकप्रति पुस्तक पनि दिनुभयो । उहाँले प्रकाशन गरेका पुस्तकहरू अध्ययनका लागि दिनु पनि भयो । पुस्तक पढ्न दिएर उहाँले ठूलो ऋणी नै बनाउनु भए जस्तो लाग्छ । उहाँ पुस्तक पढ्न दिने लगानीकर्ता र म लिने ऋणी । पुस्तक हातमा परेपछि पढ्न शुरु गरिहाले । यात्राको समयमा कोही कुरा गर्ने व्यक्ति भएन भने उक्त समयमा पुस्तक पढ्ने बानी लगाएको छु । यस्तै मेसोमा जहाँ जस्तो समय मिल्छ त्यही समयमा पुस्तकका केही भाग पढी हाल्ने सोचमा पुगेको छु । यस पुस्तक पनि जति पढ्न सकिन्छ त्यसैगरी पढेँ । बाँकी भाग समय निकालेर नै पढेँ ।
पुस्तकको शुरुमा नै प्रकाशन अनुभूति भनेर सुदर्शनजीले वर्तमानको शक्ति पुस्तकले उहाँमा पारेको प्रभावका बारेमा लेख्नु भएको छ । उहाँले यसलाई उहाँकै भाषामा चमत्कारिक प्रभाव भन्नु भएको छ । अध्यात्म भावमा विश्वास गर्नेहरूले अन्तर आत्माको आवाज सुन्न सक्ने सम्भावना छ । अन्तरदृष्टबाट भित्र हेर्न सक्ने शक्ति छ भन्ने गरिन्छ । उहाँको यस अनुभवलाई मैले सहज रूपमा लिएँ । उहाँको अनुभव यस्तै हुनसक्छ ।
सुदर्शन घिमिरेजीको प्रकाशन अनुभूतिमा साँच्चिकै नै उहाँका अनुभवजन्य विषयहरू व्याख्या भएको देखिन्छ । वर्तमानमा बाँच्नका लागि आफू नै साधना, चेत, अभ्यास आदिमा लाग्नु पर्ने भएकोले त्यसबाट अनुभव गर्न सकिने विषयको रूपमा मैले यसलाई बुझेको छु ।
भागवत गीता एवम् एक हार्ट टोलजस्ता पश्चिमा लेखकहरू पनि हरेक मानिसभित्र चैतन्य बोधको खजाना छ जसले सबै कुरा दिन सक्छ भन्छन् । तर विडम्बना, मानिसहरू उक्त खजाना आफूभित्र रहेको नबुझेर वा त्यसलाई चिन्न नसकेर क्षणिक सुख, बाहिरबाट प्राप्त हुने लाभका पछाडि दौडिइरहेका छन् । आवरणमा होइन सारमा जीवन बोध गराउन सक्छ मानिसभित्र रहेको मनले । अझ भनौँ आत्माले । बुद्धले चैतन्य बोधलाई सर्व दुख निवृत्ति भने । साथै सबै दुख नाश भएको अवस्था नै चैतन्यत्तेय हो भने ।
पुस्तक प्रशस्त मात्रामा दार्शनिक पक्षले भरिएको छ । नेपाली भाषामा अनुवाद गरिएको प्रति अध्ययन गर्दा पनि एकै पटकमा कतिपय सन्दर्भमा बुझ्न कठिन लाग्यो । कतिपय सन्दर्भ एक पटक पढेर पुग्दैन । नबुझेको ठाउँमा चिन्ह लगाएर पुन अध्ययन गर्नुपर्छ, मनन गर्नुपर्छ । आत्म निरीक्षण गरेपछि बुझेजस्तो हुन्छ । समग्रमा भन्नुपर्दा एक पटक मात्र पढ्दा पुस्तक पढे भन्नलाई त पुग्छ होला । तर सार बुझ्नका लागि त पुस्तक एक पटक भन्दा बढी पटक पढ्नै पर्ने रहेछ । यो चाहिँ मेरो अनुभव हो ।
पुस्तकको सार भनेकै वर्तमानमा बाँच भन्ने छ । तर मलाई सबैभन्दा मन परेको पक्ष चाहिँ जागरूक बन, सचेत बन, प्रतिरोधी नबन, यथार्थतालाई स्वीकार गर भन्ने जस्ता विषयहरू व्यवहारिक र यथार्थपरक छन् । यसबाट सहनशीलता बढ्न सक्छ ।
बाहिरबाट हासिल गरिने खुसी क्षणिक हुन्छ । यो एक परिस्थितिले निर्माण गर्छ जुन अर्को परिस्थितिमा लागु नहुन सक्छ । यो खुसी फेरी दिएर हिँड्ने पनि होइन । यसलाई व्यक्तिले आफैभित्रबाट सृजना गर्न सक्नुपर्छ । मनभन्दा भित्र गएर सृजना गरेको खुसी दिगो हुन्छ । वास्तवमा भन्ने हो भने सफलता खुसीको कारण सृजना हुने हो । सफलताको कारण खुसी सृजना होइन । जुन काम खुसीले गरिन्छ, त्यही काममा सफल हुने सम्भावना अधिक हुन्छ ।
जब जब मानिसमा बुढ्यौलीमा लाग्छ ऊसँग भविष्य भन्दा पनि विगतको मात्रा अधिक हुन्छ । उ विगतको सम्झनामा जिउने गर्छ । युवासँग विगतभन्दा पनि भविष्यको सपना हुन्छन् । यही विगत र भविष्यको कारण यिनीहरूमा दुःख हुन्छ । अर्थात् यिनीहरू दुःखमा बाँच्छन् लेखक भन्छन् । तर सानो बालक वा बालिकालाई यी विगत र भविष्यको चासो र चिन्ता रहँदैन । यिनीहरू वर्तमानमा बाँच्छन् त्यही भएर यिनीहरूको जीवन भोगाइमा अधिक खुसी रहन्छ । जो वर्तमानमा बाँच्छ, वर्तमान समयका बारेमा जागृत र चेतन अवस्थामा रहन्छ उसले परम आनन्दको अवस्था पाउँछ भन्ने धारणा एक हार्ट टोलको पनि थियो ।
मानिसमा नाम, इज्जत कमाउने भोक हुनुलाई त्यही अस्वभाविक मान्न नपर्ला किनकि यी मानवीय स्वभाव अनि गुणहरू हुन् । यति कमाए पछि खुसी हुन्छु भनेर बस्ने होइन कि जे छ त्यसैमा खुसी हुँदै अगाडी जानुपर्छ पुस्तकले दिएको अर्को सन्देश यो रहेछ ।
विश्वका लगभग ७ अर्ब मानिसहरूका हातको औँलाको छाप एक आपसमा मिल्दैनन् । वास्तवमा यी फरक फरक हुन्छन् । हरेक व्यक्ति अर्काभन्दा फरक हुन्छ नै । शायद यसैलाई भनिन्छ वैयक्तिक विभिन्नता । यसबाट पनि के भन्न सकिन्छ भने मानिस फरक भए जस्तै यिनको सोच विचार, भित्रको रसायन, क्षमता पनि फरक हुन्छ ।
सबै व्यक्ति सबै कामका लागि होइनन् भन्ने सोच मनन गर्न सके एक व्यक्तिले आफू र अरुमा रहेको फरकपना बुझ्न सहयोग पुग्थ्यो । एक आपसमा तुलना गर्न आवश्यक होइन भन्ने बुझ्थ्यो अनि अरूलाई पनि बुझाउँथ्यो । यसले पनि व्यक्तिलाई आफ्नो हैसियत बुझेर चित्त बुझाउन सहयोग पुग्छ ।
वैदिक कालदेखि नै साधु, सन्त, ऋषि महात्माहरूले आश्रम वा यस्तै संस्थाहरू चलाएर शिक्षा, तालिम, अभ्यास आदिमा प्रशिक्षित गर्दै आए । औपचारिक संगठनले यस्ता कार्यक्रम चलाएका पनि छन । सामाजिक सञ्जालमा मोटिभेसनल वक्ता पनि थुप्रै भेटिन्छन् । यतिका प्रयासका बाबजुद पनि मानिसमा चिन्ता, बेचैनी, दबाब, असन्तोषको मात्रा बढेको देखिन्छ ।
एकातिर मानिस भौतिक सुख सुविधा र भौतिक संसारको अत्यधिक उपभोगबाट खुसी खोज्न लागेको देखिन्छ भने अर्कोतिर कतिपय व्यक्तिहरू अध्ययनको क्रममा नै यस आत्मिक सुख प्राप्तिको बाटोमा लागेका भेटिन्छन् । तर केही असन्तोष र दबाब एवम् बेचैनीमै छन् । यिनका दुःखका स्रोतहरू पनि बढेकै देखिन्छ । व्यक्तिलाई धेरै महत्त्वाकाङ्क्षी नबनाईकन सात्त्विक एवम् सहअस्तित्वको मार्गबाट अगाडी बढ्ने वातावरण बनाउने हो भने हरेक व्यक्तिमा खुसी बढाउन सकिन्छ भन्छन् सन्तहरू ।
पश्चिममा संस्कृति र दर्शनलाई आधार मानेर लेखिएको यस पुस्तकमा धेरै सन्दर्भहरू सोही परिवेशबाट उठाइएका छन् । तापनि छिटफुट रूपमा गीता र पूर्वीय दर्शनको सन्दर्भ पनि उठाइएको छ । पुस्तकको मूल ध्येय वर्तमानमा बाँच, वर्तमानमा उपस्थिति जनाउ, मनमा दुःख सङ्ग्रह गरेर नराख, चैतन्य प्राप्तिबाट परम आनन्द लिउ भन्नेमा केन्द्रित छ ।
पढाइ पुगेन भनेर पुस्तकले मलाइ धकेलेका विषय क्षेत्रहरु
पुस्तक पढिसकेपछि पनि मेरो मनमा केही प्रश्नहरू बाँकी नै रहे । के व्यक्तिलाई वर्तमानमा मात्र बाँच्दा पुग्छ ? व्यक्तिले भविष्यको योजनाका बारेमा नसोच्दा पनि हुन्छ ? वा यसका बारेमा कुनै चिन्ता गर्न पर्दैन ? के व्यक्तिले विगतको समीक्षा गर्न पर्दैन ? विगत नसोच्दा त्यसका गल्तीका बारेमा के हुने ?
समाजलाई विचारले निर्देशित गर्नमा ऋषि, साधु, सन्त, महात्माहरूको ठूलो योगदान छ । समाज र मुलुकको भौगोलिक सीमा र सो को सुरक्षा रक्षा हेर्ने निकायले गर्छ, शासन सञ्चालन राजनैतिक प्रणालीले गर्छ तर नागरिकको मनमा जीवन र जगत प्रतिको दृष्टिकोण र बुझाई यिनै सन्त एवम् महात्माहरूले भरिदिएका हुन्छन् । समाजमा यस्ता साधु महात्माहरूको सङ्ख्या भलै कम होला तर यिनले विषम परिस्थितिमा पनि खरानीभित्र पुरिएर रहेको आगोको फिलिङ्गोको रूपमा काम गरिरहेका हुन्छन् । समाजलाई मानवीय मूल्य र चेतनाले डोर्याउने काम यस्तै साधु सन्तबाट भइरहेछ । यस्ता मूल्य मान्यतामा पूर्वीय दर्शन धनी भए पनि प्रचार प्रसारमा भने पश्चिम अगाडी छ । भगवत् गीतालाई अध्ययन गर्न गराउन सकेको भए मानिसले कति व्यवहारिक ज्ञान पाउन सक्ने थिए होलान् । तर हामी यसमा पछाडि पर्यौ ।
अहिले सामाजिक सञ्जालमा मोटिवेशनल वक्ताको रूपमा धेरै अनुहार देख्न पाइन्छ । गेरु वस्त्रका व्यक्तिहरू पनि धेरै नै देखिन्छन् । यी मध्ये कति वास्तविक साधु सन्त एवम् ऋषि होलान् र कतिले केवल अभिनय मात्र गरेका होलान् ? वास्तविक ऋषि, साधु, सन्त पनि अहिले आएर बढेको देखिएका हुन कि सामाजिक सञ्जालकै कारण भएकै व्यक्तिहरू बाहिर आएका वा देखिएका होलान् ? हुन त पहिला ज्ञान खोज्ने मान्छे वा व्यक्ति गुरुकुल वा आश्रममा जानु पर्थ्यो । अहिले त गुरुहरू हरेकको मोबाइलमा पुगे । कुन सक्कली गुरु र कुन नक्कली गुरु एकिन गर्न कठिन छ । यसले वास्तविक साधु सन्तहरूको विचार पनि भिडमा हराउने डर छ । यस्ता पुस्तकहरू खोज्ने र पाठकसमक्ष ल्याउने काम यही रूपमा हुन सक्ला आउने दिनमा पनि ॽ फेरी कुन भर्चुअल गुरु सक्कली र कुन नक्कली कसरी छुट्याउने ॽ कसको विचार सही र कसको गलत भनेर मापन कसरी गर्ने ॽ
के मानिस विगतका भोगाइबाट निरपेक्ष रहन सक्छ ? डर, त्रास, भय, चिन्ता, क्रोध, लोभ, लालसा आदिबाट अलग रहन सक्छ ॽ के मानिस अरूको प्रगति र आफ्नो यथास्थितिमा रमाउन सक्छ ? अझ एउटै उद्देश्यको प्राप्तिमा लागेकाहरूको हकमा यो विषय के कति मात्रामा लागु हुन सक्ला ? यी यस्ता दार्शनिक प्रश्न हुन, जसको एउटै उत्तर नहोला । व्यक्ति पिच्छे फरक फरक अनुभव हुन सक्छन् । यस्ता प्रश्नहरूको उत्तर यस पुस्तकले खोतल्न खोजेको छ । यहाँ धेरै खुराक छ तर मेरो आफ्नै अध्ययन नपुगेर हुनसक्छ यसबाट के पुगेन के पुग्न जस्तो बनायो मलाइ ।
हरेक व्यक्तिभित्र परम चैतन्य छ । बीउको रूपमा रहेको हुन्छ । त्यसलाई के कति मात्रामा फस्टाउन दिने भन्ने विषय स्वयम् व्यक्तिमा भर पर्ने देखियो । तर सो परम चैतन्य प्राप्त गर्न मन र परम चैतन्यको बिचमा रहेको अवरोध हटाउनुपर्छ, त्यहाँ रहेको पर्दा खोल्न सक्नुपर्छ लेखक भन्छन् । यो पर्दा यति बलियो हुन्छ कि जहाँ मनसँगको पहिचानले धारणा, उपाधि, नाम, कल्पना, अनुमान एवम् परिभाषा सबै मिलेर बसेका हुन्छन् । व्यक्तिले मनको पिँजडाबाट आफूलाई छुटाउन सक्यो भने वास्तविक रूपमा मुक्ति पाउँछ । कति समय साधना गरे यस चैतन्य अवस्था हासिल गर्न सकिने हो ॽ
यस पुस्तकमा धेरै चर्चा गरिएका शब्दहरूमा परम चैतन्य, अहम्, प्रतिरोध, संवेग, समर्पण, क्षमा आदि छन् । यी सबैले पाठकलाई मनको तहभन्दा अझ पर लैजानका लागि घचघच्याइ रहेको अनुभव हुन्छ । यसका लागि के कस्ता साधना आवश्यक पर्छन् होला ॽ
के कुनै पनि चिन्ता नभएको व्यक्ति भेट्न सकिन्छ यस धर्तीमा ॽ आफूसँग केही पनि नभएको मानिस खुसी र सुखी हुन सक्छ ॽ के अहिलेको भौतिकवादी युगमा यस्ता सन्त महात्मा पाउन सकिन्छ होला ॽ वैदिक र परापूर्व एवम् कथाका पात्रमा यस्तो भेटिन्छ नै । तर वास्तविक मानवीय जीवनमा पाउन सकिएला ॽ
ओशोले कुनै प्रसंगमा भनेको एउटा कथा सापटी लिऊँ । उनले यस अवस्थालाई ‘खुसी’ मानिसको सन्दर्भसँग जोडेर बडो रोचक कथा उल्लेख गरेका छन् । राजा बिरामी भए । गरेका कुनै औषधी मुलोले पनि भेटेन, वैद्यको बुटीले पनि काम गरेन । राजाका आफन्त अन्तिममा तान्त्रिकको शरणमा परे । तान्त्रिकले राज्यमा रहेको कुनै एक खुसी मानिसको पुरानो वस्त्र ल्याएर राजालाई लगाउन सके रोग निको हुने बतायो । मन्त्रीले खुसी मानिसको कपडा खोज्न चारैतिर मानिस दौडाए । तर यस्ता मानिस कतै भेटिएन । यसको लागि एक दिनको समय मात्र थियो ।
बेलुकीपख सम्म कोही खुसी मानिस नभेटेपछि मन्त्री निराश भइ नदी किनारमा बसेर ‘यो मुलुकमा एक जना खुसी मानिस फेला परेन, कसरी शासन चलाइएको रहेछ’ भनेर दुःख मान्दै थिए । मन्त्रीको दिक्दारीपन सुनेर नदी किनारको छेउमा रहेको झाडीतिरबाट कसैले बोल्यो, म खुसी छु’ । मन्त्रीले बाहिर आएर तिम्रो पुरानो कपडा देऊ, मैले तिमिलाई तिमीले चाहे जति धन दिन्छु भन्यो । मन्त्रीले यसको कारण पनि बताए ।
झाडीभन्दा परबाट उक्त व्यक्तिले जवाफ दियो, ‘मसँग लोगटीमात्र छ, जुन तिमीलाई दिन सक्दिन, सो बाहेक अरु केही छैन, के दिउँ’ । कस्तो अचम्म जोसँग घर घडेरी जग्गा, गाडी, धनसम्पत्ती छ, उ खुसी छैन । तर जोसँग एउटा लोगटी मात्र छ तर उ खुसी छु भन्छ । मन्त्रीले जीवन र जगतको फरक अर्थ त्यस साधुबाट मात्र थाहा पाए ।
के वास्तविक जीवनमा यस्तो सम्भव छ ॽ
वास्तवमा सुख भौतिक साधन हो भने खुसी भनेको आत्मिक पक्ष हो, मानसिक अवस्था हो । सम्पूर्ण रूपमा मानिसको जीवन यही सुख र खुसी खोज्नमा दौडिई रहेको प्रतीत हुन्छ । एकथरी सुखको लागि दिनरात दौडेका छन् । कोही नभएर पनि सुखी र खुसी नै छन भने कोही आफूसँग भएकोले नपुगेर नै सुख र खुसी खोज्न दौडिरहेका छन् । बुद्धले राजकीय पद त्यागेर मुक्तिको मार्ग खोजे । खुसी प्राप्त गर्ने मार्गहरू अलग छ है भनेर सन्देश दिए ।
गीतामा कृष्णाले अर्जुनलाई ज्ञान, भक्ति र ध्यानका मार्ग बताए जसले आनन्द स्वरूप रहन सक्छ । विश्व प्रतिष्ठित संस्थामा अध्ययन गरेकाहरू कर्पोरेट दुनियाँमा प्रवेश गर्न छोडेर यही मार्गमा लागेका भेटिन्छन् । यस्ता मानिसहरू कति मात्रामा खुसी छन भनेर मापन गर्ने कुनै यन्त्र बनेको छ त ॽ
बाल्यकाल जो आमाको काखमा बित्दछ, त्यस समय व्यक्ति खुसी हुन्छ भनिन्छ । कतिपय अवस्थामा वयस्कहरू पनि खुसी होलान् नै । खुसी हुनु र चिन्ता भय नहुनु एउटै पाटो होला कि फरक फरक पाटो होला ?
बर्तमानको शक्ति पढेर पनि यी प्रश्नहरू अनुत्तरित नै रहे । यी र यस्ता थुप्रै प्रश्नका उत्तरहरू यही पुस्तक भित्र हुन पनि सक्छन् । यसका लागि मैले शायद अरु थप अध्ययन गर्नु पर्छ होला ।
नेपाल सरकारका सचिव डा. लम्साल हाल बागमती प्रदेश सरकारका प्रमुख प्रदेश सचिव हुन् । यसमा व्यक्त विचार लेखकका निजी मत हुन् ।