काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर ३ स्थित एन्फा वात्सल्यदेबी एकेडेमीमा पहिरोमा परी ६ जना बाल खेलाडीको निधन भएको घटनालाई लिएर सरकारले छानबिन आयोग गठन गर्नु पर्ने माग गरेका छन् ।
अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त घटनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) प्रति व्यङ्ग्य पनि गरेका छन् । उनले २०४५ सालमा काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुःखद घटना हुँदा आफूले नैतिकताका आधारमा एन्फाको अध्यक्ष पदबाट राजीनामा दिएको प्रसंग पनि उल्लेख गरेका छन् ।
‘२०४५ साल फागुनमा आँधिबेहरीका कारण दशरथ रंगशालामा भएको दुर्घटनामा धेरैको ज्यान गयो । कसैको दबाब थिएन । कसैले राजीनामा मागेको पनि थिएन । अन्तर आत्माको आवाज सुनेर अखिल नेपाल फुटबल संघको अध्यक्ष पदबाट मैले तत्काल राजीनामा दिएँ, सामाजिक सञ्जाल फेसबुकमा उनले पोष्ट गरेका छन् ।
थापाले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस
२०४५ साल फागुनमा आँधिबेहरीको कारण दशरथ रंगशालामा भएको दुर्घटनामा धेरैको ज्यान गयो। कसैको दबाब थिएन, कसैले राजीनामा मागेको पनि थिएन। अन्तर आत्माको आवाज सुनेर अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षबाट मैले तत्काल राजीनामा दिएँ।
सरकारले छानबिन आयोग गठन गर्यो। अन्ततः राष्ट्रिय खेलकुद परिषद् विघटन भयो, शिक्षा मन्त्री राजीनामा दिन बाध्य भए। यो राजाको शासन र पंचायतकालको कुरा थियो।
गत २०८१ असोजमा एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुखद निधन भयो। वर्तमान समयमा एन्फा नेतृत्वबाट राजिनामाको आशा वा अपेक्षा गर्दिन । कमसेकम सरकारले छानबिन आयोग गठन गरोस् र पीडितलाई न्याय देओस् भन्ने माग गर्दछु। यस तर्फ प्रम के पी ओलीको ध्यान आकर्षित गर्दछु ।