काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन् ।
संघीय संसद्को संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार सार्वजनिक उजुरी आह्वान गरिएका समय सीमा सकिँदासम्म सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध मात्र उजुरी परेको हो ।
सर्वोच्च अदालतको न्यायाधीशमा न्याय परिषद्ले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले असोज १५ मा दुवैविरुद्ध सार्वजनिक सूचना तथा उजुरी आह्वान गरेको थियो । १० दिनको समय दिएर सार्वजनिक सूचना तथा उजुरी आह्वानको म्याद मंगलबार सकिएको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीशमा कार्यरत छन् भने पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन् ।
निरौलाले विगतमा गरेका फैसलालाई जोडेर उजुरी परेको संसदीय सुनुवाइ समिति सचिवालयले जनाएको छ ।
न्यायाधीशमा सिफारिस व्यक्तिविरुद्ध सार्वजनिक सूचना तथा उजुरी दिने समय सकिएपछि सुनुवाइ समिति बैठकले उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि सिफारिस व्यक्तिलाई समितिमा बोलाएर अनुभव तथा कार्ययोजना प्रस्तुत गर्न लगाउने र उजुरीका सम्बन्धमा प्रश्न गर्नेछ ।
सुनुवाइ समिति सचिवालयका अनुसार सिफारिस भएका दुवै न्यायाधीशको सुनुवाइ तिहार पहिले नै हुनेछ ।
न्याय परिषद्को असोज ११ को बैठकले निरौला र पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।