काठमाडौँ । नेपालमा कम्पनी दर्ता प्रक्रिया पूर्ण रूपमा अटोमेशनमा गएको छ, जसले गर्दा अब कम्पनी दर्ताका लागि सेवाग्राहीहरूलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटेको कम्पनी रजिष्ट्रारको कार्यालयले जानकारी दिएको छ । नयाँ सफ्टवेयर प्रणालीको सुरुवातसँगै कम्पनी दर्तामा कागजको प्रयोग पनि हटेको छ । अबदेखि कम्पनी दर्ता प्रक्रियामा सेवाग्राहीको तर्फबाट पनि डिजिटल हस्ताक्षर लागू गरिने छ । कम्पनी रजिष्ट्रारको कार्यालयले अटोमेशन प्रणाली लागू गरेपछि सेवाग्राहीले अब आफू उपस्थित नभई अनलाइनबाटै कम्पनी दर्ताको प्रक्रिया पूरा गर्न सक्ने छन् ।
यो प्रणाली सुरु भएपछि, दर्ताको लागि कार्यालय धाउनुपर्ने झन्झट पूर्ण रूपमा हटाइएको रजिष्ट्रार प्रदीप अधिकारीले प्रशासनलाई जानकारी दिएका छन् । अधिकारी भन्छन् ‘कम्पनी दर्ता प्रणालीको अटोमेशनले सेवाग्राहीहरूलाई सहज बनाएको छ, जसअन्तर्गत कम्पनी दर्ताका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात र डाटा अनलाइनमार्फत पेश गर्न सकिन्छ । अब कम्पनी दर्ताको प्रमाणपत्र पनि अनलाइनबाटै डाउनलोड गर्न सकिन्छ ।’
डिजिटल हस्ताक्षरको सुरुवात
कम्पनी रजिष्ट्रारको कार्यालयले डिजिटल हस्ताक्षरको प्रणाली लागू गरेर कम्पनी दर्तामा कागजी प्रक्रिया हटाएको छ । कार्यालयले अब कम्पनी दर्तामा सेवाग्राहीहरूको तर्फबाट पनि डिजिटल हस्ताक्षर लागू गर्ने तयारी गरिरहेको छ ।
यसका लागि सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको छ, जसमा अदालतले हाललाई डिजिटल हस्ताक्षर ऐच्छिक राख्न अन्तरिम आदेश दिएको छ । सेवाग्राहीहरूको पक्षमा हाल यो प्रणाली ऐच्छिक रहेको छ ।
त्यस्तै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी भए पनि अदालतको अन्तरिम आदेशका कारण यस प्रावधानलाई हाललाई स्थगित गरिएको छ ।
ई-गभर्नेन्सतर्फको एक कदम
कम्पनी दर्तामा अटोमेशन लागू भएसँगै सरकारले ई-गभर्नेन्स लागू गर्ने दिशामा थप प्रगति गरेको छ । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमार्फत सुशासन प्रवर्द्धन गर्न अटोमेशनको सुरुवात महत्त्वपूर्ण कदमको रूपमा लिइएको अधिकारीहरूले बताएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले सूचना प्रविधिको थप उपयोग गर्दै कम्पनी प्रशासनका अन्य सेवाहरूलाई पनि पूर्ण रूपमा अटोमेशनमा लैजाने योजना बनाइरहेको जनाएको छ ।
अटोमेशन प्रणालीले कार्यालयको कार्यभार कम हुँदै जाने र यसले लगानीकर्ता शिक्षाका साथै संरक्षणका क्षेत्रमा थप भूमिका खेल्न सक्ने बताइएको छ ।
इन्टिग्रेसन र डेटा उपयोग
कम्पनीको सूचना र डेटा आवश्यक पर्ने अन्य सरकारी निकायहरूले कम्पनी रजिष्ट्रारको सिस्टमसँग इन्टिग्रेसन गरेर आफ्नो सेवा पनि प्रभावकारी बनाउन सक्ने गरी यो प्रणाली तयार गरिएको छ । हाल कम्पनी दर्ताको समयमा नै आन्तरिक राजस्व कार्यालयबाट स्वतः प्यान नम्बर प्राप्त हुने व्यवस्था गरिएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयले आर्थिक तथा व्यावसायिक डाटा बैंकको रूपमा पनि कार्य गरिरहेको छ, जसले गर्दा यो डाटा आर्थिक विकास र उद्यमशीलतासँग सम्बन्धित अन्य कार्यालयहरूका लागि निकै उपयोगी हुने देखिएको छ ।
कम्पनी दर्ता प्रक्रिया
नेपालमा व्यवसाय सुरु गर्न कम्पनी दर्ता एक औपचारिक र आवश्यक प्रक्रिया हो । वि.सं. २०४९ मा स्थापना भएदेखि कम्पनी दर्ता, अभिलेख राख्ने र प्रशासनका कार्यहरू गर्दै आएको कम्पनी रजिष्ट्रारमा कम्पनी दर्ता प्रक्रिया झन्झटिलो भएको सेवाग्राहीहरूको गुनासो रहँदै आएको थियो । अब, नेपाली नागरिक वा कुनै पनि समूहले संसारको जुनसुकै ठाउँबाट अनलाइनमार्फत कम्पनी दर्ता गर्न सक्ने गरी प्रणालीको विकास गरिएको कार्यालयको भनाई छ । अनलाइन प्रणालीमा निवेदन पेश गर्न र स्वीकृत भए पश्चात् कम्पनी दर्ताको प्रमाणपत्र आफैँले डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ । यसका साथै, कम्पनी दर्ताको जानकारी अनलाइन पोर्टलमा क्युआर कोडमार्फत पनि हेर्न सकिन्छ ।
विदेशी लगानीकर्ताहरूले भने, उद्योग विभागबाट लगानी स्वीकृति लिएपछि मात्र नेपालमा कम्पनी दर्ता गर्न सक्ने व्यवस्था छ । कम्पनी दर्ताका लागि संस्थापकहरूले प्रबन्ध पत्र र नियमावली बनाइ कार्यालयमा पेश गर्नु पर्दछ, जसको नमूना कार्यालयको वेबसाइटमा उपलब्ध गराइएको छ ।
नेपालमा कम्पनीको संख्या बढ्दै गएको छ । हालसम्म नेपालमा झन्डै ३ लाख ५० हजार कम्पनीहरू दर्ता भइसकेका छन्, जसमध्ये करिब १० हजार कम्पनीहरू खारेज भइसकेका छन् । हाल दैनिक रूपमा लगभग १०० नयाँ कम्पनीहरू दर्ता भइरहेका छन् ।
यस नयाँ प्रणालीको लाग्न सात वर्ष लागेको र यो सुरुवात मात्र भएको कम्पनी रजिष्ट्रार अधिकारीले बताएका छन् । उनले भने, ‘महत्त्वपूर्ण आधार तयार भएको छ । मन्त्रीज्यूको विशेष पहलमा कम्पनी प्रशासनका अधिकांश सेवाहरूलाई अटोमेसनमा लैजाने कामको आधार तयार भएको छ ।’
नेपालमा वि.सं. १९९३ मा पहिलो कम्पनी ऐन आएको थियो, जसको परिणामस्वरूप विराटनगर जुटमिल्स लिमिटेड र नेपाल बैंक लिमिटेडको स्थापना भएको थियो। यसरी कम्पनी प्रणालीको इतिहास नेपालमा सुरु भएको हो।