काठमाडौँ । नागरिक एपबाट पनि राष्ट्रिय परिचयपत्र हेर्ने व्यवस्था मिलाउनका लागि सरकारले स्वीकृति दिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत आएको प्रस्तावलाई गृह मन्त्रालयले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा पेश गरेपछि मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तर आबद्धता कायम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
सरकारले स्वीकृति प्रदान गरे पनि अहिलेसम्म उक्त निर्णय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका विभागमा आइनसकेको विभागले जनाएको छ ।
विभागका अनुसार उक्त निर्णय आइसकेपछि विभागले राष्ट्रिय परिचयपत्रलाई नागरिक एपमा देखाउने व्यवस्था गर्नका लागि प्राविधिक पाटोको काम अघि बढाउने छ । आफ्नो व्यवस्थापनको पाटो पुरा गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत रहेको सूचना प्रविधि विभागले राष्ट्रिय परिचयपत्रलाई पनि नागरिक एपमा देखिने व्यवस्था मिलाउने बताएको छ ।