काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.८८ अंकले बढेर २ हजार ६ सय ६५.८१ विन्दुमा उक्लेको छ । सोमबारको तुलनामा नेप्से ०.९८ प्रतिशतले बढी हो ।
आइतबार र सोमबार दुवै दिन घटेको नेप्से मंगलबार दोहोरो अंकले बढेको हो । सो दिन कारोबारमा आएकामध्ये १९९ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ४० वटाको घट्यो भने बाँकी ५ वटा कम्पनीको स्थिर रह्यो ।
५३ हजार ६ सय ७८ पटकको कारोबारमा १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।