काठमाडौँ । नेपाल पर्यटन विभागले चार तारे, पाँच तारे र पाँच तारे डिलक्स होटेल तथा डिलक्स र लक्जरी रिसोर्टहरूमा प्लास्टिकजन्य बोतलमा पानी तथा पेय पदार्थको प्रयोगमा प्रतिबन्ध लगाएको छ। विभागले मिति २०८१ कात्तिक ५ गते गरेको निर्णयानुसार, यी होटेल तथा रिसोर्टहरूलाई प्लास्टिकजन्य बोतलको सट्टा काँचका बोतल वा धातुका भाँडाहरूमा पानीको व्यवस्था गर्न निर्देशन दिएको हो।
विभागले जारी गरेको परिपत्रमा प्लास्टिक बोतलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको जानकारीका आधारमा यो निर्णय गरिएको उल्लेख छ। सो निर्णयले विशेष गरी चार तारे वा सोभन्दा माथिल्लो श्रेणीका होटेलहरूमा यो नियम लागू गरिने भएको छ।
पर्यटन विभागका शाखा अधिकृत हरि शरण न्यौपानेले हस्ताक्षर गरेको परिपत्र अनुसार, होटेलका कोठा तथा रेष्टुरेन्टहरूमा पिउने पानीको लागि प्लास्टिकजन्य बोतलको प्रयोग रोक्न काँचका बोतल र अन्य धातुका भाँडाहरूको प्रयोगलाई प्रोत्साहित गरिएको छ । यस निर्णयबाट वातावरणीय सन्तुलन कायम राख्न र मानव स्वास्थ्यलाई प्राथमिकता दिने लक्ष्य रहेको पर्यटन विभागले बताएको छ।
यो नियम लागू भएसँगै होटेल र रिसोर्टहरूमा प्लास्टिकजन्य बोतलको प्रयोग बन्द गर्न र वैकल्पिक विकल्प अपनाउनका लागि पहल गरिएको छ।