काठमाडौँ। नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनलाई अवमूल्यन र उपहास गरेको बताएको छ ।
रास्वपा सभापति रवि लामिछाने शुक्रबार पक्राउ परेर पोखरा लगिएपछि त्यस यता उक्त दलले गरेका गतिविधिले अनुसन्धानलाई प्रभावित पार्नेतर्फ सचेत गराएको छ ।
लामिछानेका समर्थकहरूले गरिरहेको हुल-हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रियामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने काँग्रेसले विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।
रास्वपाको विरोध प्रदर्शनले राज्यका तटस्थ निकायलाई आतंकीत र त्रसित पारी अनुचित दबाब सिर्जना गर्ने कार्य भएको काँग्रेसको ठम्याइ छ । निष्पक्ष अनुसन्धान र न्यायिक निरूपणको कार्यलाई वाधा पुर्याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका सञ्चालकहरू जीवी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्ध उजुरी परे पनि विगतमा छानबिन अघि नबढेको काँग्रेसको दाबी छ।
सहकारी छानबिन समितिले दिएको प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लगेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि अनुसन्धानको दायरामा आउनुपर्ने काँग्रेसले जनाएको छ । न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाउन उत्तेजित र उच्छृङ्खल गतिविधि नगर्न काँग्रेसले रास्वपालाई सुझाव दिएको छ ।