काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दर्जनौँ अधिकृत स्तरका कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधवार(हिजो) एक दर्जन बढी उपसचिव र दुई दर्जन बढी अधिकृतहरूको सरुवा गरेको थियो । तर बिहीवारअपराह्नसम्म पनि सरुवा गरिएका कर्मचारीहरूको सूची सार्वजनिक गरिएको छैन ।
मनलाग्दी कर्मचारी सरुवा गरेको भन्दै चौतर्फी आलोचनाका बीच पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अझै अपारदर्शी सरुवामै तल्लीन रहेको छ । सरुवा भएकोबारे मन्त्रीको सचिवालय, मन्त्रालयका प्रवक्ता, कर्मचारी प्रशासन महाशाखा प्रमुख र शाखा प्रमुखहरू सबैले स्वीकारे पनि सूची दिने सवालमा भने कतिपयले ‘एकै छिन्’ है भन्दै त्यसपछि पठाएनन् भने कतिपय ‘पठाइहाले’ भनेर पनि पठाएनन् । यसो हुनुको पछाडि अनियमित तवरले सरुवा गर्नु नै रहेको मन्त्रालयकै उच्च अधिकारीको भनाई छ ।
‘निर्णय भई सकेको सरुवा सूची लुकाउनुको कुनै अर्थ छैन र यसअघि सबै सार्वजनिक गरिँदै पनि आएको छ तर पछिल्ला दिनहरूमा सरुवामा चलखेल बढ्दै गएको र सूची सार्वजनिक नगर्नु त्यसैको उपज भएको’ ती अधिकारीको भनाई छ । संघीय र त्यसमा पनि कर्मचारीको अभिभावक मन्त्रालयले नै गरेको यस्तो अपारदर्शी कार्यले सुशासनलाई चुनौती त दिएको छ नै, थप भ्रष्ट्राचारमासमेत मलजल गरिरहेकोमा प्रशासनविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।
त्यसो त बेमौसममा हरेक दिनजसो कर्मचारी सरुवा गरिरहँदा सेवा प्रवाहमा समस्या भइरहेको विषयलाई पनि मन्त्रालयले नजरअन्दाज गर्दै आएको छ । जसले कर्मचारीतन्त्रलाई दिनप्रतिदिन अस्थिर बनाउँदै लगेको छ । सरुवा भित्रका अनेक खेलहरूबारे प्रशासन सिंहदरवार विशेष ब्युरोले निरन्तर समाचार प्रशासन गर्दै आएको छ ।