डोटी । डेंगु रोग नियन्त्रण तथा रोकथामको लागि लामखुट्टेको लार्भा खोजौँ र नष्ट गरौँ अभियान डोटीमा शुक्रवार देखि सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको समन्वय तथा जिल्ला प्रहरी कार्यालय डोटी, स्वास्थ्य कार्यालय डोटी, जिल्ला अस्पताल डोटी र जिल्लाका विभिन्न सरकारी कार्यालयहरूको सहभागितामा सिलगढी बाट अभियानको सुरुवात गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।
अभियान अन्तर्गत सिलगढीमा रहेका विभिन्न होटेल, सार्वजनिक स्थल, पानी जम्ने ठाउँहरूको खोज तथा अनुगमन गरी सम्भावित जोखिमको पहिचान गरी रोकथामका लागि होटेल सञ्चालकहरूलाई विभिन्न सुझाव सल्लाह दिनुका साथै गाडीका टायरहरूको व्यवस्थापन तथा सार्वजनिक स्थलको व्यवस्थापन गरिएको प्रजिअ अर्यालले बताए ।
लामखुट्टेको लार्भा खोजौँ र नष्ट गरौँ अभियानलाई जिल्ला व्यापी रूपमा बिस्तार गर्न स्थानीय तहहरू सँग समन्वय भइरहेको समेत प्रजिअ अर्यालले बताए । जिल्ला स्थिति सरकारी कार्यालयहरूले प्रत्येक हप्ताको शुक्रवार कार्यालय वरपर सरसफाइ गर्ने विषयमा छलफल भएको समेत बताए ।
अभियानलाई जिल्ला व्यापी रूपमा सञ्चालन गर्न विभिन्न निकाय, सरोकारवाला निकायहरूको सहयोग आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताए ।