तपाईँलाई महाभारतप्रति रुचि र जिज्ञासा छ भने यो लेख तपाईँलाई आध्यात्मिक रूपान्तरणको लागि सहयोगी बन्ने छ भन्ने आशा छ। पहिला बुझौँ “महाभारतमा के छ ?” “यसका लेखक को हुन् ?” र “यस महाकाव्यको रचना कहिले भएको हो ?”
महाभारत धार्मिक शास्त्रहरू श्रुति, स्मृति, पुराण र इतिहास मध्ये इतिहास अन्तर्गत पर्दछ। यसमा कुरुवंशिहरु राजा सन्तनु देखि लिएर अर्जुनका नाति राजा परीक्षितसम्मको इतिहास छ। ती इतिहासका पात्रहरू मध्ये सबै पात्रहरूको आ(आफ्नो विशेषता, योग्यता र सामर्थ्य छ।
महाभारत अथाह छ। यो पढेर बुझेर कहिल्यै नसकिने ग्रन्थ हो। एउटै पात्रमा महाकाव्य बन्न सक्छ। तर, पनि ती प्रमुख पात्रहरूको बारेमा पढ्ने, बुझ्ने मात्र नभएर ती पात्र र घटनाबाट महाभारतका लेखक वेदव्यासज्यूले के बोध दिन चाहनुहुन्छ त्यो अनुभूति अवश्य गर्न सकिन्छ।
महाभारतको घटना एकदमै धेरै पहिलाको घटना पनि होइन। त्यही लगभग पाँच हजार वर्ष अगाडीको घटना हो। तर, सोचनीय के छ भन्दा “के पाँच हजार वर्ष अगाडी महाभारतमा उल्लेख भएका जस्ता पात्रहरू वास्तवमा थिए त ?”
जस्तै भीष्म आफूले नचाहेसम्म मर्दै नमर्ने। गुरु द्रोण छोरा नमरेसम्म नमर्ने। छोरा अश्वत्थामा फेरी कहिल्यै नमर्ने अष्ट चिरञ्जीवी मध्ये एक। कर्णको कथा त्यस्तै छ। कुन्तीले सूर्यको उपासना गरिन्, सूर्यदेव प्रकट हुनु भयो र छोरा दिएर जानुभयो। द्रौपदीको पनि त्यस्तै एउटी महिलाले पाँच जना पुरुष सँग विवाह गरेर बस्ने। अझ कृष्णकी प्रिय सखा। आदि महाभारतमा कैयौँ घटनाहरू छन्। के यो सबै सम्भव छ ?
महाभारतलाई विभिन्न कोणबाट हेर्न सकिन्छ। महाभारतलाई सामान्य दृष्टिबाट हेर्ने हो भने दुई भाइको झगडा बाहेक केही पनि देखिँदैन। सत्ताको लागि छल, कपट, अन्याय, हत्याको षड्यन्त्र, बलात्कार, वनवास र युद्ध बाहेक केही पनि छैन। सत्ताको लोभको कारणले पाण्डवलाई अनेकौँ बार कौरवले हत्या गर्न कुनै चाल बाँकी राख्दैनन्। विष खुवाएर हुन्छ कि, आगो लगाएर हुन्छ, या कुनै जालझेल गरेर हुन्छ। पाण्डवहरूको अस्तित्व नै मेटाउन चाहन्थे। केहीमा पनि सफल नभए पछि द्रौपदीको वस्त्र हरण गरेर वनवास पठाउने षड्यन्त्रमा शकुनी सफल हुन्छन्। हुन त अरूको अहितमा गरेको काम एक छिनलाई सफलता माने पनि वास्तवमा त्यो सफल भएको हुँदैन। कौरवहरू कुनै पनि काममा पूर्ण सफल हुन पाउँदैनन्। अन्तिममा सबै मारिन्छन्।
सामान्य घटना राज्यमा घटेको हुन सक्छ। तर, जसरी कथा लेख्नुभएको छ, पात्रहरूलाई प्रस्तुत गर्नुभएको छ। ती सबै पहिलो पल्ट महाभारत पढ्दा अचम्म मात्र होइन, अपत्यारिला लाग्छन्।
मैले एउटा आर्टिकलमा पढेको थिएँस् एउटा विदेशी राइटरलाई पूर्वीयहरूको संस्कृति परम्परा देखेर एकदम अचम्म लागेछ। उनले सोचेछन् यहाँ त कोही मंकी गड छन्, कोही इलेफेन्ट गड छन्। यसभित्रको रहस्य के रहेछ भनेर उनले हिन्दुहरूको धार्मिक शास्त्रहरूको अध्ययन गर्ने निधो गरेछन्। हिन्दुहरूको धार्मिक ग्रन्थ श्रीमद्भगवद्गीता र हेर्दा खेरी थोरै पेजको जम्मा ७०० श्लोक मात्र। उनले पहिला गीता पढ्ने विचार गरे। १८ मध्ये पहिलो अध्यायमा महाभारत युद्धमा लड्ने महारथीहरूको पात्र परिचय र अर्जुनको दुखको पिडा छ। पहिलो चोटि अध्ययन गर्दा अर्जुनका तर्कहरू उचित पनि लाग्छन्। र उनलाई पनि मन परेछ। तर, दोस्रो अध्यायको सुरु हुँदा बित्तिकै श्रीकृष्ण बोल्नुहुन्छ। “भन्नुहुन्छ: हे अर्जुन तिमीमा यो कायरता कहाँबाट आयो ? तिमी नपुंसक नबन। युद्ध गर।” ९गीता २र२ र ४० उनलाई लागेछ। यी हिन्दुहरूले कस्तालाई भगवान् मान्दा रहेछन्। भगवानले त झन् शान्तिको मार्ग देखाउनु पर्नेमा लड्न प्रेरणा गरिरहेका छन्। उनले गीता पढ्नै बन्द गरिदिएछन्।
आध्यात्मिक दृष्टिकोणबाट हेर्ने हो भने महाभारत कुनै भौतिक युद्धको ग्रन्थ नभएर मानसिक युद्धको ग्रन्थ हो। महाभारत मनुष्य भित्रको सकारात्मक र नकारात्मक विचार एवं शक्ति बिचको युद्ध हो। नकारात्मक विचारहरू र शक्ति विरुद्ध लडेर स्वयंको अनुभूति कसरी गर्न सकिन्छ भन्ने बुझाउनको लागि वेदव्यासज्यूले शरीर भित्रका शक्तिहरूलाई प्रतिकात्मक रूपमा विभिन्न पात्र र घटनाहरूको परिकल्पना गर्नुभएको छ। जति पनि पात्रहरू र घटनाहरू छन् ती सबै प्रतिकात्मक छन्। सिम्बोलिक छन्।
यो ग्रन्थ मनुष्यको कल्याणको लागि परमार्थक ग्रन्थ हो। यस ग्रन्थ भित्र कृष्णको महिमा र गीताको गरिमा पाउन सक्छौँ। मनुष्य जीवनका रहस्यहरू यस ग्रन्थको माध्यमद्वारा अनुभूति गर्न सक्छौँ।
महाभारतको भीष्म पर्व अन्तर्गत २५ अध्यायदेखि ४२ अध्यायसम्म श्रीमद्भगवद्गीता पर्दछ। यो परम ज्ञान भगवान् श्रीकृष्णले पछि हुनेवाला राजा अर्जुनलाई महाभारत युद्धको बिचमा सुनाउनु भएको थियो। महाभारतमा कृष्णको संवाद धेरै ठाउँमा छ। र त्यहाँ “कृष्ण उवा” लेखिएको छ। तर, यी अठार अध्यायहरूमा मात्र “भगवानुवाच छ”। यस कारण यो ज्ञान विवाद रहित छ। यसमा सत्य र असत्यभन्दा माथि परम ज्ञानका कुराहरू छन्। जो कसैले आफूले श्रद्धा राख्ने सद्गुरु वा भगवानलाई गीतामा देख्न सक्छ। चाहे त्यो हिन्दु, मुस्लिम, इसाई, बौद्ध, जैन आदि जे होस्। यो ग्रन्थ कुनै सम्प्रदायमा आधारित पनि छैन। संसारका सबै सम्प्रदायहरूलाई विसर्जन गर्ने ग्रन्थ हो। मात्र मनुष्यको कल्याण कसरी हुन्छ। त्यसमा मात्र आधारित छ। युद्धमा दिइएको ज्ञान त शस्त्र, अस्त्र र युद्ध रणनीतिको विषयमा हुनुपर्थ्यो। तर, कहीँ पनि यस सम्बन्धी छैन। पुरै गीता भरी अन्तस्करण सुद्ध गरेर कसरी ईश्वरको अनुभूति गर्न सकिन्छ भन्ने फर्मुलाहरू मात्र छन्।
महाभारतका प्रमुख पात्रहरू मध्ये एक हुनुहुन्छ श्रीकृष्ण। हेर्दा भोगी जस्तो तर, योगी हुनुहुन्छ। जसका साथी गरिब सुधामा छन्। तर, राजा हुनुहुन्छ। श्रीकृष्ण महाभारतको मुख्य नायक हुनुहुन्छ। श्रीकृष्णले गीतामा १० अध्यायको ३७ वाँ श्लोकमा “पाण्डवानां धनञ्जय” पाण्डवहरूमा म अर्जुन हो भन्नुहुन्छ। पाण्डवमा म अर्जुन हुँ भन्दा अर्जुनको मनस्थिति भ्रमित हुन्छ। पछि अर्जुनलाई लाग्छ लड्ने म, जस पाउने कृष्ण। बरबरीक महाभारत युद्धका प्रत्यक्ष साक्षी थिए। उनले वाण हान्ने पनि कृष्ण, वाण लाग्ने पनि कृष्ण हुन् भनेपछि पाण्डवहरूलाई पूर्ण विश्वास हुन्छ।
श्रीकृष्णलाई नबुझी, नजानी महाभारतमा प्रवेश गर्न नै सकिँदैन। एउटा कथा छ। वेदव्यासज्यूले सबै पुराण लेख्नुभयो तर पनि उहाँको मन आनन्दमय उल्लासमय भएन। त्यस कारण आनन्दमा रमाउनको लागि अन्तिम पुराण श्रीमद्भागवत महापुराणको रचना गर्नुभयो।
श्रीमद्भागवद्महापुराणमा कृष्णकै चर्चा छ। कृष्ण सँगसँगै राधा र गोपीहरूको नाम नआउने कुरै भएन।
जस्तो सुकै परिस्थिति आए पनि कृष्ण मुस्कुराइरहनु हुन्छ। आनन्दमा रहनुहुन्छ। उहाँसँग भएको बाँसुरीले यही संकेत गर्छ। जब कृष्णको बाँसुरी बज्छ गाई, गोपी र राधा दौडी(दौडी आइपुग्छन्।
को हुन् त गाई, गोपी र राधा ? जब कृष्णले आनन्दको प्रतीक बाँसुरी बजाउनुहुन्छ, अन्तस्करणमा उल्लासमय तरङ्गहरू पैदा हुन सुरु हुन्छन्। पहिला राधा दौडिँदै आउँछिन्। राधा ती हुन जो धाराको उल्टो छन्। इन्द्रियहरू निरन्तर बाहिरी भौतिक विषयवस्तुहरूमा अनवरत बगिरहन्छन्। जसका इन्द्रियहरू बाहिरी विषय भोगमा नबगेर उल्टो भित्र संयमतर्फ दौडिन्छन् ती राधा हुन्।
अब गोपी को हुन् ? जो गुप्त ज्ञानको बारेमा सुन्न, रमाउन, अनुभूति गर्न, ईश्वरसँग एकाकार हुन लालायित छन् ती गोपी हुन्। किनकि ईश्वर गुप्त छ, रहस्यमय छ।
अब गाई को हुन् त ? जब गाइले घाँस खान्छन् पहिला पेटको एक हिस्सामा घाँस सङ्ग्रह गर्छन्। त्यसपछि बिस्तारै घाँसलाई पुनस् मुखमा ल्याएर चबाइ रहन्छन्। जब कुनै कुरा सुनिन्छ त्यो कुरालाई गाईले घाँस चवाए जसरी चिन्तन र मनन गर्नु पर्यो। राख्नु पर्ने कुरा भए राख्ने नभए हटाइदिने। ती चिन्तक र साधक हुन् गाई। जब कृष्णको मुरली बज्छ अन्तस्करणमा ईश्वरको अनुभूतिको तरङ्ग उत्पत्ति हुन्छ। यिनै तीन प्रकारका व्यक्तिहरू ईश्वरको अनुभूतिको लागि दौडी दौडी आइपुग्छन्।
कृष्णको सरसरती जीवनी हेर्दा उनलाई जति प्रतिकुल परिस्थिति अरूलाई आउने सम्भावना पनि छैन। कृष्णको जन्म नै प्रतिकुल परिस्थिरको बिचमा भएको छ। कृष्णको जन्म नहुँदै आमा(बुबा जेलमा बस्नु परेको छ। उनकै कारणले उनी नजन्मँदै ६ भाइको हत्या भएको छ। जन्मेपछि पनि सानै उमेरमा उनले धेरै भ्रष्ट शासकहरूको हत्या गरेका छन्।
त्यसपछि उनको बाल्यकाल माखन चोरीको लीलामा बित्यो। अलि ठुलो भएपछि गोपिहरुसँगको रासलीलामा बित्यो। पछि युवावस्था भएपछि कृष्णको प्रवेश महाभारतमा हुन्छ।
आफ्नो हक अधिकारको लागि युद्ध गर्न प्रेरणा गर्नुभयो। कृष्णकै योजना बमोजिम पाण्डवहरूलाई युद्धमा विजयी बनाउनुहुन्छ। युद्ध समाप्त हुन्छ।
एक दिन जंगलमा ध्यान गरिरहेको अवस्थामा एक जना सिकारीले कृष्णलाई हिरण सम्झेर वाण चलाउँछ। त्यसपछि कृष्णको मनुष्य जीवन समाप्त हुन्छ।
जो कृष्ण जस्तो बन्न चाहन्छ। कृष्णमा भएका गुणहरूलाई आफ्नो जीवनमा विस्तार गर्न चाहन्छ त्यो राज ऋषि बन्छ। भौतिक संसारमा लोक कल्याण र सुशासनको लागि कृष्णको कूटनीति अहिलेका शक्तिशाली राष्ट्रका प्रमुखहरूले अपनाई रहेका छन्।
महाभारत र पुराणमा भएका पात्रहरूको प्रतिकात्मक बुझ्दा हामीले आफूलाई चमत्कारिक महसुस गर्ने छौँ। भगवानको दयालुता, कृपा र प्रेमसँग साक्षात्कार हुनेछौँ। भगवान् कति सुहृदय हुनुहुन्छ त्यसको महसुस गर्नेछौँ। हामीमा जे प्राप्त छ त्यसमा पूर्णताको बोध हुनेछ। जय श्री कृष्ण।