काठमाडौँ । २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको टीकापुर विमानस्थलमा आज नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले पुनः परीक्षण उडान गर्दै छ ।
निगमका कप्तान उज्ज्वल सिलवाल र मनिष विष्टले नेपालगन्जबाट ट्विनअटरलाई टीकापुरमा अवतरण गराउँदै छन् । नेपालगन्जबाट टीकापुर ३८ माइल (६१ किलोमिटर) हवाई दुरीमा पर्छ ।
यो परीक्षण उडानका लागि प्राधिकरणबाट उपनिर्देशक ज्ञानेन्द्र भुल, एयरओर्दिनेस अफिसर सम्राट् प्रधान, फ्लाइट अपरेसन इन्स्पेक्टरलगायतको टोली नेपालगन्जबाट टीकापुर निगमको ट्विनअटर विमानमा जाँदै छ ।
पर्यटन मन्त्रालयबाट परीक्षण उडानको संयोजन गरिरहेका पर्यटन राज्यमन्त्री अरुण चौधरी आइतबारै टीकापुर पुगिसेका छन् ।
परीक्षण उडानका लागि टीकापुर नगरपालिकाले सोमबार त्यहाँ थारु संस्कृति प्रदर्शनी, नाचगानलगायतको कार्यक्रम आयोजना गरेको छ ।
कर्णाली नदी र पारी पट्टी जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज तथा भारतसँग नजिकै सीमा जोडिएकाले टीकापुर विमानस्थलको सम्भावना रहेको त्यहाँका स्थानीय सरकार प्रमुखले केन्द्रीय सरकारलाई बुझाउँदै आएका ज्ञापन पत्रमा उल्लेख छ।
समुद्री सतहबाट २ सय ४३ मिटर उचाइमा रहेको टीकापुर विमानस्थलको धावनमार्गको लम्बाई ५ सय ७३ मिटर रहेको छ ।
माओवादी विद्रोह सुरु भएपछि ०५४ सालपछि टीकापुरमा उडान रोकिएको थियो । त्यसअघि त्यहाँ नेपाल वायुसेवा निगमको १९ सिटको ट्विनअटरले अछामको साँफेबगरबाट उडान गर्ने गरेको थियो ।