काठमाडौँ। नजिकिँदै गरेको तिहारलाई स्वागत गर्न सिँहदरवारमा पनि सरसफाइ तथा फुलहरू लगाउन थालिएको छ । झपक्क फुलेका सयपत्रीका नयाँ फूलहरू लगाउने र बिग्रेका लाइटहरू मर्मत गरी अनिवार्य रूपमा बाल्ने पहल गरिंदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव विनोद बहादुर कुँवरको नेतृत्वमा गरिएको यस निर्णयसँगै मन्त्रालय परिसरलाई सफा, आकर्षक र उज्यालो बनाउने कार्यमा निजी सचिवहरू सक्रिय भएका छन्।
डेंगु नियन्त्रणका लागि नियमित सरसफाइलाई ध्यानमा राख्दै विशेष सरसफाइ अभियान शुरुवातसँगै तिहारको अवसरमा थप हरियाली कायम गर्ने र सयपत्री फूलहरू राखेर मन्त्रालय परिसरलाई आकर्षक बनाउने काम भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका निजी सचिव सुरथ पोखरेलले जानकारी दिए। उनले तिहारपछि पनि सरसफाइलगायतका कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका निजी सचिव प्रकाश आचार्यले एकीकृत र समन्वयात्मक ढङ्गले मन्त्रालयका कामहरूलाई अघि बढाउन नियमित बैठकहरूको व्यवस्था गरिएको र पछिल्लो बैठकले नजिकिँदै गरेको तिहारलाई मध्यनजर गर्दै सरसफाइ र सजावटमासमेत लाग्ने निर्णय भएको बताए। उनले प्रशासन महाशाखा र शाखा प्रमुखहरूसँग छलफल गरी सरसफाइ, फूल रोपण, र लाइट मर्मत कार्य थालिएको जनाए।
केही दिन अघि बसेको निजी सचिवहरूको दोस्रो बैठकले हालसम्म सम्पन्न भएका कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा थप सुधार गर्न अपनाउनुपर्ने उपायहरूबारे गम्भीर छलफल गरेका छन् । बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू बीच सम्पन्न कार्य सम्पादन सम्झौताका हालसम्मका प्रगतिहरूको समीक्षा गर्दै सय दिनमा हासिल भएका प्रमुख उपलब्धिहरूको विश्लेषणसमेत गरिएको छ । सरकारका बजेट र कार्यक्रमहरूको कार्यान्वयन अवस्थालाई प्रभावकारी बनाउने उद्देश्यसहित निजी सचिवालयबाट भएका सहजीकरण प्रयासहरूको पनि अध्ययन गरिएको सहभागी एक निजी सचिवले प्रशासनलाई जानकारी दिए ।
यसै क्रममा, प्रधानमन्त्री र मन्त्रीका निजी सचिवहरू तथा सचिवालयका कर्मचारीहरूले सामूहिक प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन्। यसले सबैलाई जिम्मेवारी बोध गराउने र पारदर्शितालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ, जसले आगामी दिनमा कार्य सम्पादनको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
तिहारको पूर्वसन्ध्यामा सबै मन्त्रालयमा विशेष सरसफाइ गर्ने, मन्त्रालय परिसरमा रहेका बिरुवाहरूलाई गोडमेल गरी थप सौन्दर्य बढाउने, नयाँ फूलहरू रोप्न, बिग्रेका लाइटहरू मर्मत गरी बत्ती बाल्न लगाउने जिम्मेवारी निजी सचिवालयले लिएको छ। यो प्रयासले कार्यालयहरूको वातावरणलाई स्वच्छ, व्यवस्थित र सौन्दर्यपूर्ण बनाउँदै सरकारी छवि सुधार्ने लक्ष्य लिएको छ।
पछिल्ला सुधार प्रयास र छलफलका निष्कर्ष यसअघिको बैठकमा प्रधानमन्त्रीका निजी सचिव कुँवरले मन्त्री सचिवालयहरू बीचको कार्य समन्वय, सूचना आदानप्रदान र सुशासन कायम गर्न विभिन्न सुधार पहलहरू अघि सारेका थिए। मन्त्रीका सचिवालयहरूबिच नियमित समन्वय कायम गर्न समन्वय उपसमिति गठन गरिएको थियो, जसले प्रत्येक महिनामा बैठक आयोजना गर्दै मन्त्रालयहरूको कार्यक्षमतामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
सम्बन्धित समाचार : मन्त्री सचिवालय सुधार प्रयास : प्रधानमन्त्रीका निजी सचिव कुँवरद्वारा निजी सचिवहरूसँग वृहत छलफल
कुँवरले मन्त्रालयका निजी सचिवहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै इमान्दारीपूर्वक र उच्च नैतिकता कायम राख्दै सरकारका प्राथमिकता र कार्यक्रमलाई जनतासम्म पुर्याउन अहम् योगदान दिनुपर्ने कुरामा जोड दिँदै आएका छन् । उनको नेतृत्वमा थालिएको यो पहलले सरकारी सचिवालयहरूको व्यवस्थापन र समन्वयलाई अझ सुदृढ बनाउँदै विकृति र विसंगतिहरूको अन्त्य गर्ने आशा गरिएको छ।
सरकारका सबै निजी सचिवालयहरूलाई व्यवस्थित र कुशल बनाउन प्रधानमन्त्रीको कार्यालयले सुरु गरेको यो अभियानले मन्त्रालयहरूमा देखिने समस्याहरूलाई समाधान गर्दै सरकारी कामकारबाहीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।