काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन नगरिने स्पष्ट पारेका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले र नेपाली काँग्रेस बीच संविधान संशोधनका विषयवस्तु र प्रक्रिया बारे छलफल भइरहेको भन्दै मुलुकको उपलब्धिलाई बाधा पुग्ने गरी संविधान संशोधन नगरिने स्पष्ट पारेका हुन् ।
उनले संविधान सहमतिको दस्ताबेज भएकाले यसलाई सबैको सहमतिमा संशोधन गरिने जानकारी बताए ।
उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सबैलाई कारबाही गर्नुपर्ने जिकिर गर्दै कसैप्रति पूर्वाग्रह नराखिएको बताए । सहकारी ठगी प्रकरणमा नयाँ पार्टीको व्यवहार लोकतन्त्र अनुकूल नदेखिएको उनको भनाइ छ ।
पोखरेलले मीन बहादुर गुरुङले दिएको जग्गा पारदर्शी रूपमा पार्टीले ग्रहण गरेको र अदालती प्रक्रियामा गइसकेकोले अदालतको निर्णयलाई हेरेर अघि बढ्ने जानकारी दिए ।
गुरुङ एमालेको शुभचिन्तक भएकाले अपारदर्शी ढंगले कुनै काम नभएको उनले बताए ।