काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची बनाउने भएको छ ।
कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण संकलन थालिएको सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रशासनलाई बताए ।
विवरण संकलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् त्यसबारे स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘सरुवा गरेर पठाएका धेरैजसो कर्मचारीहरू सम्बन्धित कार्यालयहरूमा हाजिर भइसकेको तर केही कर्मचारीले मात्रै विभिन्न बहानाबाजी गरेर हाजिर गर्नुभएको छैन मन्त्री गुप्ताले भने, उहाँहरूको विवरण संकलन गरिरहेका छौँ ।’ यस्तै मन्त्रालयले पठाएका कर्मचारीहरूलाई हाजिर गर्न नदिने पालिकामाथि पनि कारबाही गर्ने मन्त्री गुप्ताले प्रशासनसँग भने ।
‘पालिकामा प्रमुख प्रशासकीय अधिकृत जाने तर सम्बन्धित पालिकाका प्रमुखले हाजिर गर्न नदिने परिपाटी रहँदै आएको छ । अब त्यस्तो क्रियाकलाप गर्ने पालिकालाई मन्त्रालयबाट दिइने सेवा सुविधामा रोक लगाउँछौँ’, मन्त्री गुप्ताले भने । जनताले दैनिक रूपमा सेवा उपभोग गर्ने स्थानीय तहका कुनै पनि कार्यालयमा नगर तथा गाउँपालिका प्रमुख अथवा कर्मचारीहरूबाट हुने कमी कमजोरीमाथि मन्त्रालयले आवश्यक निगरानी गरिरहेको बताउँदै मन्त्री गुप्ताले सुशासनको सवालमा सरकार दृढ रहेको र कसैको दबाब वा प्रभावमा आफू नपर्ने समेत उनले बताए ।
गाउँ वा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्यो भने जनताले सेवा सुविधा नपाउने र जनताको सेवा सुविधाका लागि पनि आफू निर्मम भएर अघि बढ्ने विश्वास उनले व्यक्त गरेका छन् । यद्यपि, कोही कर्मचारीको वास्तविक समस्या रहेको खुलेमा उनीहरूका हकमा सहजीकरण गर्न पनि आफू तयार रहेको उनको भनाइ छ । कर्मचारी नपुग भएको ठाउँमा मन्त्रालयको ध्यान पुगेको भन्दै उनले अब केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्ने दाबी गरे ।