काठमाडौँ । पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वीकार गरेको भन्दा करिब ४० गुणा बढी भएको आइक्यू एयरको तथ्यांकले देखाएको छ ।
डब्लूएचओले अस्वास्थ्यकर मानेको २४ घण्टाको अवधिमा घातक पीएम २.५ प्रदूषकको स्तर ६१० पुगेको छ। प्रदूषकहरूको दायरा मापन गर्ने वायु गुणस्तर सूचकांकले प्रदूषकहरूका दायरा १०६७ मा पुगेको जनाएको छ ।
लाहोरका वरिष्ठ वातावरण संरक्षण अधिकारी जहाँगीर अनवरले एएफपीसँग भने, “हामी कहिल्यै पनि एक हजारको दायरा भन्दा माथि पुगेका थिएनौँ।” निम्न स्तरको डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले गर्दा लाहोरलाई केही दिनदेखि धुवाँ धुलो, कुहिरो र प्रदूषकको मिश्रणले ढाकेको छ।
प्रान्तीय वातावरण संरक्षण निकायले बुधबार शहरका चार ‘हट स्पट’मा नयाँ प्रतिबन्धको घोषणा गरेको छ । मुख्य प्रदूषकको श्रोतका रूपमा लिइने ‘टू स्ट्रोक’ इन्जिनबाट चल्ने टुक-टुक, फिल्टर बिना बारबेक्यू सेवा चलाउने रेस्टुरेन्टहरू प्रतिबन्धित भएका छन्।
सरकारी कार्यालय र निजी कम्पनीका आधा भन्दा बढी कर्मचारी सोमबारदेखि घरबाटै काम गर्ने भएका छन् । निर्माण कार्य रोकिएको छ र सडक किनारामा खुला आकाशमा पकाइने स्ट्रिट फुड किनबेचलाई राति ८ बजेपछि बन्द गर्नुपर्नेछ।