काठमाडौँ । मोरङ ग्रामथान गाउँपालिकामा मंसीर १६ गते हुने उप निर्वाचनमा अध्यक्ष पदका लागि एमालेले ११ जना आकांक्षीको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।
एमाले ग्रामथान गाउँ कमिटीले अध्यक्षका लागि ११ जना आकांक्षी देखिएपछि उनीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । जिल्लाले पनि ११ जनाकै नाम सुझाव सहित प्रदेश कमिटीमा पठाएको छ ।
पालिका र जिल्ला पठाएको नामका आधारमा कार्त्तिक २४ गते उम्मेदवारको नाम टुंगो लगाउने एमाले मोरङका इन्चार्ज जीवन घिमिरेले बताए । उनले प्रदेशले फाइनल गरेर पठाएको नामका आधारमा कार्त्तिक २६ गते उम्मेदवारको नाम सार्वजनिक गरिने बताए ।
ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवारकालागि पूर्व अध्यक्ष शिवनारायण माझी, तुलसीराम विश्वास, कृष्णकुमार माझी, एकराज घिमिरेको नाम एमाले ग्रामथान गाउँ कमिटीले सिफारिस गरेको छ ।
यस्तै आस नारायण माझी, तुलसी विश्वास, नमनारायण चौधरी, युवराज खनाल, निर्मला अधिकारी, नवीनकुमार मण्डल र ध्रुवकुमार श्रेष्ठको नाम पनि सिफारिस भएको छ ।
ग्रामथानको अध्यक्षको उम्मेदवारको रूपमा मा ११ जनाको नाम सिफारिस भए पनि शिवनारायण माझी, तुलसीराम विश्वास र कृष्णकुमार माझी मध्ये एक जनाले टिकट पाउने देखिएको छ ।