काठमाडौँ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बौद्धमार्गी विद्वानहरूलाई भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गरेका छन् ।
भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा सम्पन्न प्रथम ‘एसियन बुद्धिस्ट समिट-२०२४’ लाई बुधबार सम्बोधन गर्दै डा. लामाले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वका सबै बौद्धमार्गी विद्वानहरूको स्वागत गर्न लुम्बिनी विकास कोष आतुर रहेको बताएका हुन् ।
उनले विश्वमा शान्तिको सन्देश फैलाउन शान्तिका अग्रदूत गौतम बुद्धका सन्देशहरू अहिले झन् सान्दर्भिक रहेकाले एसियन बुद्धिस्ट समिट र यस्तै कार्यक्रमहरूको आयोजना थप आवश्यक रहेको पनि चर्चा गरे ।
उनले बुद्धका शान्ति र सहिष्णुता एवं सत्यसम्बन्धी सन्देशहरू संसारभर फैलाउन र बौद्ध दर्शन र परम्पराबारे थप खोज अनुसन्धान आवश्यक रहेकामा पनि जोड दिए । यस्ता सम्मेलन एवं छलफल कार्यक्रमहरूले विश्वमा बौद्ध दर्शन र सिद्धान्तहरूको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास पनि उपाध्यक्ष लामाले व्यक्त गरे ।
उनले बौद्ध शिक्षाका माध्यमबाट एसिया क्षेत्रलाई अझ विकसित बनाउन सकिने धारणा राख्दै बुद्ध मार्गले कला, साहित्य, वास्तुकला र ध्यानका माध्यमबाट सम्पूर्ण एसियालाई नै एकताबद्ध गरेर जोडेको बताए । विश्वमा र अझ बढी एसियाली मुलुकहरूमा बुद्ध धर्म र बौद्ध शिक्षाको अनुसरण विभिन्न तरिकाबाट भइरहेको प्रसंग पनि उनले उल्लेख गरे ।
उनले लुम्बिनी विकास कोषले पनि बुद्ध धर्म र बौद्ध शिक्षालाई विशेष महत्त्व दिएर कार्यक्रमहरूको आयोजना गर्ने गरेको र यसलाई आगामी दिनमा निरन्तरता दिने धारणा राखे । एसियाली बौद्ध सम्मेलनको आयोजना गरेकामा भारत सरकारलाई उनले विशेष धन्यवाद ज्ञापन गरे ।
आज सम्पन्न सो सम्मेलनमा नेपालसहित एसियाली देशका बौद्ध दर्शनमा आस्था राख्ने विद्वान एवं बौद्धमार्गीहरुको सहभागिता रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।