बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका-८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
क्याम्पभित्र कार्यरत रहेका बेला सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डँडेल्धुराको गन्याधुरा गाउँपालिका-१ निवासी २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मृतक दियाल लेसनायक पदमा कार्यरत थिए ।
करेन्ट लागेर डँडेल्धुराको अमरगढी नगरपालिका–२ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका-६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरमार्फत आर्मी अस्पताल छाउनी काठमाडौँ पठाइएको र मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको उनले बताए ।