काठमाडौँ । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोलीमाथि एक समूहले आक्रमण गरेको छ ।
लुम्बिनीको सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा बिहीबार साँझ स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर आक्रमण गरेको हो । तस्करहरूको समूहले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको सशस्त्र प्रहरी बल नेपालका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले प्रशासनलाई बताए ।
मुजहनामा अवैध रूपमा नेपाल भित्र्याइ चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो ।
ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराती, सशस्त्र प्रहरी नायब निरीक्षक काशी प्रसाद चौधरी र सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डे लगायतको हातमा सामान्य चोट लागेको सह-प्रवक्ता डिएसपी थापाले जानकारी दिए ।
उक्त टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो । थापाका अनुसार राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको ११२ बोरा चिनी राजस्व अनुसन्धान कार्यालय बुटवलमा राखिएको छ ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको ना १ झ १४७७ नम्बरको गाडीमा क्षति पुगेको छ ।