काठमाडौँ। नेपालमै पहिलो पटक १ हजार १११ साधक बटुकद्वारा सञ्चालित अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न भएको छ ।
प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा कात्तिक २१ गतेदेखि आयोजना भएको महायज्ञमा दैनिक १० हजारभन्दा बढी श्रद्धालु भक्तजनहरूले उपस्थिति जनाएको आयोजक नेपाल महर्षि वैदिक फाउण्डेसनले जनाएको छ ।
फाउण्डेसनले महायज्ञमार्फत नेपालले विश्वशान्तिक र वैदिक विचारको प्रबर्धनमा महत्त्वपूर्ण योगदान गरेको बताएको छ ।
महायज्ञका दौरान आयोजित प्रांगारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान सम्मेलन एवं भावातीत ध्यान शिविर पनि सफलताका साथ सम्पन्न भएको बताइएको छ ।
महायज्ञका दौरान दैनिक १ हजार १ सय ११ वैदिक बटुकहरूबाट विधिपूर्वक रुद्राभिषेक गरिएको थियो भने १५ लाख दीप प्रज्वलन गरिएको थियो ।