निजामती कर्मचारी वृत्तमा विदेश भ्रमण एउटा उत्प्रेरणाको महत्त्वपूर्ण अंग मानिन्छ | सधैँ सधैँ उस्तै काम अनि एउटा भूगोलमा काम गरिरहँदा कहिले काहीँ विदेश भ्रमण गर्दा कर्मचारीमा एउटा मिठो अनुभूति हुन्छ | विश्वका विकसित देशहरूको विकास, रहनसहन, रीतिरिवाज र विश्व परिवेश बुझ्न मद्दत पुग्दछ | अहिलेको २१ औँ शताब्दीमा हामी कहाँ रहेछौ अनि विश्व कहाँ पुग्यो , त्यो हेर्न सकिन्छ | हामीले हाम्रो देशमा कस्तो विकास गर्नुपर्ने हो | कसरी देशलाई आर्थिक समृद्धिमा लगी विकसित देश बनाउन सकिन्छ भन्ने खोज आफूमा पैदा भइ एउटा कर्मचारीलाई सानो भने पनि उत्प्रेरणा प्रकट हुन्छ |
यस पङ्क्तिकारले २६ वर्ष अगाडी निजामती सेवामा प्रवेश गरेको थियो तर पनि निजामती सेवामा महत्त्वपूर्ण उत्प्रेरणाको स्रोत बनेको विदेश भ्रमणको अवसर यस अघि कहिल्यै जुटेन | २०५५ सालमा निजामती सेवामा छिरेको मैले २०८१ सालमा मात्र विदेश भ्रमणको अवसर प्राप्त गरे | विदेश भ्रमण मेरो अत्यन्त रुझानको विषय हो | मलाई देश भित्रकै भ्रमण पनि रोचक लाग्दछ | त्यसैले अफिसियल कामकै सन्दर्भमा तथा आफ्नै निजी तवरबाट म देश भित्रै पनि भ्रमण गरिरहन्छु | मैले आफ्नै प्रयासमा भारतको धेरै पटक भ्रमण गरेको छु |
एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको आयोजनामा थाईल्याण्डको बैंककमा दुई दिने तालिम सञ्चालन हुने भएको हुँदा चार जना अधिकृत कर्मचारीहरूलाई मनोनयन गरी पठाउन शहरी विकास मन्त्रालय अन्तर्गत रहेको स्थानीय पूर्वाधार विभागलाई पत्राचार भएको थियो | शहरी विकास मन्त्रालयले नेपाल सरकारलाई कुनै पनि आर्थिक भार नपर्ने गरी म सहित ४ जना उपसचिवहरूलाई बैंकक पठाउन मनोनयन गर्यो | मैले जब मेरो पनि थाइल्याण्ड मनोनयन भएको थाहा पाए | म खुसीले रोमाञ्चित बने | म आफ्नै प्रयासमा ६ वर्ष अघि एक पटक थाइल्याण्ड गएको थिए | मलाई जानकारी प्राप्त भएपछि मैले विशेष राहदानी बनाए अनि होटेल बुकिङ इत्यादि कार्य तथा अन्य तयारी गरे | मैले थाईल्याण्डको फुकेटमा बस्ने साथी मदन अधिकारीको सहयोगमा बैंककको पतुनाममा रहेको भिजिटिङ कार्ड होटेल तथा रिसोर्टमा कोठा बुक गरे | पतुनाम बैंककको महत्त्वपूर्ण केन्द्र हो जहाँ धेरै सपिङ मलहरू अनि होटलहरु छन् | हाम्रो ट्रेनिङ पतुनाम नजिकै लुम्फिनी एरियामा रहेको होटेल मोभेन पिक बिडीएमएस वेलनेस रिसोर्टमा हुने जानकारी भएको थियो |
म बहुत सुन्दर देश थाइल्याण्ड भ्रमण गर्ने उत्साह लिएर रोमाञ्चित हुँदै अक्टोबर १, २०२४ मा बिहान १०:३० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगे | हामी थाई इन्टर्नेशनल एयरलाइन्सको जहाजबाट १:३० बजे दिउसो बैंकक उड्ने तालिका थियो | तर विशेष कारणवश उडान डिले भयो | हामीलाई एअर लाइन्सले विमानस्थलमा सेक्युरिटी जाँच पछि उडान डिले भएको कारणले गर्दा दिउसो खाना खुवायो | अनि निर्धारित समयभन्दा ३.५ घण्टा ढिलो थाई इन्टरनेशनल एयरलाइन्सको विमानमा हामी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमान्डौबाट नेपाली समय अनुसार ५:०० बजे थाईल्याण्डको सुबर्णभुमि अन्तराष्ट्रिय विमानस्थल तर्फ उड्यौँ | विमानका कर्मचारीहरू सबै थाई थिए | मेरो आडमा एक जर्मनकी बायो मेडिकल इन्जिनियर युवती थिइन् भने अर्कोतिर जापान अध्ययन र कामको लागि जाँदै गरेकी पोखराकी युवती थिइन् | मेरो देब्रेपटि सिटकी जर्मन युवतिसँग मिठो कुराकानी गर्दै मैले यात्रा गरे | हसिली, मिजासिली अनि मिलनसार उनी बैंकक जाँदै थिइन् | हामी शहरी विकास मन्त्रालय बाट ३ जना , सडक विभागबाट ३ जना, गृह मन्त्रालयबाट २ जना, राष्ट्रिय योजना आयोगबाट १ जना र बन मन्त्रालयबाट १ जना सँगै यात्रा गरिरहेका थियौ |
थाई एयरलाइन्सका विमानका सुन्दर एयर होस्टेजहरुले केहीबेरमा जुस लगायतका पेय पदार्थहरू वितरण गर्न थाले | केहीबेरमा खाना वितरण गरे | अनि विमान केहीबेरमा इन्डियाको आकाशमा पुग्यो | त्यसपछि बंगलादेशको आकाशमा पुग्यो | अनि त्यसपछि बर्माको आकाश हुँदै बेलुकी ७:४४ मा विमान थाइल्याण्ड प्रवेश गर्यो | नेपाली समय अनुसार विमान बेलुकी ८:२० मा थाईल्याण्डको सुबर्णभुमी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो | त्यस बेला थाइल्यान्डको समय अनुसार बेलुकी ९:३६ भएको थियो | थाइल्यान्ड र नेपालको समयको फरक १ घण्टा १६ मिनेट छ | थाइल्यान्डको समय नेपालको भन्दा १ घण्टा १६ मिनेट छिटो छ | जहाजबाट झरी आफ्नो लगेजहरू लिएर हामीले अन एराइभल भिसा लगायौ | त्यसपछि हामी टेक्सीमा बैंककको पतुनाम तर्फ गयौ | मेरो कोठा बुकिङ भएको होटेलमा पुगी फ्रेस भई त्यस रात म थाइल्याण्डको बैंककमा निदाए | थाइल्याण्ड एसियाको बहुत सुन्दर देश हो | पर्यटन यहाँको प्रमुख व्यवसाय मध्ये एक हो | विश्वभरिबाट थाइल्याण्डमा विदेशी पर्यटकहरू अत्याधिक रूपमा भ्रमणको लागि आउने गर्दछन् | कृषिमा पनि थाइल्याण्ड उत्तिकै अगाडी छ | एसियामा थाइल्याण्ड विकसित देशहरू मध्ये पर्दछ |
भोलिपल्ट अक्टोबर २, २०२४ मा म बिहानीमा उठी स्नान गरे अनि ब्रेकफास्ट खाई त्यहाँको भाडाको बाइकमा हाम्रो तालिम स्थल लुम्फिनी एरियाको होटेल मोभेन पिक बि डी एम एस वेलनेस रिसोर्ट तर्फ गए |

म होटेल मोभेन पिक पुग्दा ट्रेनिङ सुरु भैसकेको थियो | म दिउसभरी ट्रेनिङमा रमाए | एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर को आयोजनामा भएको रिजनल ट्रेनिंग: डिजाइन स्ट्यान्डर्ड्स, टूल्स एन्ड टेक्नोलोजिज फर क्लाइमेट – रेजिलियण्ट रोड इन्फ्रास्ट्रक्चर एन्ड क्लाइमेट रेजिलियण्ट बेंचमार्किंग फ्रेमवर्क सम्बन्धी तालिम छोटो तर महत्त्वपूर्ण थियो | भर्खरै हाम्रो देशमा अत्याधिक बर्षातको कारण देश भरिनै जल उत्पन्न प्रकोप भएको थियो | देशमा अरबौँको क्षति भएको थियो कयौँ मान्छेहरू जल उत्पन्न प्रकोपमा मरेका थिए | त्यसैले पनि यो ट्रेनिङ महत्त्वपूर्ण थियो | तालिममा पाकिस्तान, भुटान, माल्दिब्स र नेपालका अधिकृतहरू सहभागी थिए | अरु देशबाट २/२ जना सहभागी थिए तर नेपालबाट भने धेरै जना सहभागी थिए | दुई दिने तालिम बहुत सुन्दर र सफलता पूर्वक सम्पन्न भयो |
मेरो बसाई पतुनाम थियो | त्यसैले तालिम अवधिमा पनि मैले साँझ बिहान पतुनाम वरिपरि घुमफिर गरे अनि हल्का सपिङ पनि गरे | हाम्रो नेपाल फर्कने तालिका अनुसार नेपाल एअर लाइन्सको जहाजको टिकट ९ अक्टोबर साझको थियो | त्यसैले हामीले बाकि केही दिन थाइल्याण्ड घुम्ने योजना बनायौ | म दुई दिन मेरो बैंकक बस्ने साथीकोमा गए अनि उ सँगै बसे अनि वरिपरि घुमफिर र केही किनमेल गरे | यही बिचमा हामी तालिममा सहभागी चार जना मित्रहरूको फुकेट जाने योजना बन्यो | हामी मध्येका एक जना सिनियर मित्रले थाइल्याण्ड यात्रा संस्मरणमा आफ्नो नाम उल्लेख नगर्न कडा अनुरोध गरेको हुँदा मैले उहाहरुको यहाँ नाम उल्लेख गरेको छैन |
हामी चार जना साथीहरू फुकेट जाने योजना बमोजिम डोन मुंग अन्तराष्ट्रिय विमानस्थल बैंककबाट ६ अक्टोबर बिहान ७:३५ मा फुकेट तर्फ उडायौ | थाइल्याण्डको आकाशबाट हामीले बहुत उत्सुकतापूर्वक थाइल्याण्डको भूगोल अवलोकन गर्यौँ | खेतीयोग्य भूमि, जंगल, समुन्द्र, अनि थाइल्याण्डका गाउँ र बस्तीहरू आकाशबाट नियाल्यौ | बैंककबाट डेड घण्टाको फुकेटसम्मको आकाशको यात्रा बहुत रोमाञ्चक रह्यो | थाई एअर एसियाको जहाजबाट हामी ठिक ९:०० बजे बिहान समुन्द्रको किनारमा रहेको फुकेट अन्तराष्ट्रिय विमानस्थलमा उत्रियौ | त्यहाँबाट एउटा ट्याक्सी लिएर पातोंग बीच तर्फ गयौ | हाम्रो पातोंगमा पी आर रेजिडेन्सी भन्ने नेपालीको होटेलमा कोठा बुकिङ थियो |
हामी १ घण्टामा एअरपोर्ट बाट सिधै होटेल पुग्यौ | त्यहाँ पुगी कोठामा सामानहरू राखी फ्रेस भयौ | केहीबेरमा मेरो बाल्यकाल देखिको मित्र मदन अधिकारी केही नेपाली साथीहरू लिएर आए | केही बेर रमाइलो कुराकानी भयो | मदन विगत २० वर्षदेखि थाईल्याण्डको फुकेटमा व्यवसाय गरी बसिरहेका छन् | त्यसपछि हामी पातोंग बिच गयौ | केहीबेरमा हामी गाडी लिएर मध्य फुकेट सिटी तर्फ गयौ | मध्य फुकेट सिटिमा २०७ रानोंग, ताम्बोन , तलात भन्ने ठाउँमा ताओ आश्रम थाइल्याण्डले भेजेटिरियन् फेस्टिभल आयोजना गरेको रहेछ | त्यहाँ हामी बहुत गाह्रो सँग खोज्दै खोज्दै गयौ अनि ताओ सिनियर गुरु छिएन रन लाई भेट्यौ | उहाँले हामीलाई बहुत खुसी हुँदै अत्यन्त प्रेमपूर्ण तरिकाले ताओ भेजेटिरियन खानाका परिकारहरू खुवाउनु भयो | ताओ आश्रम विश्वभरि शाकाहारी खानाका स्वादिष्ट परिकारहरू बनाउन प्रख्यात छ | ताओका परिकारहरूले तृप्त हामी उहाहरुसँग प्रेमपूर्ण तरिकाले बिदा भयौ |

त्यसपछि हामी मध्य फुकेट सहरबाट काता बिच गयौ | अनि हामी काता बीचको नजिकै रहेको कारोन बिच गयौ | काता र कारोन बिच बहुत सुन्दर र शान्त बीच रहेछन् | कारोन बिचमा हामी केही समय रोकियौ अनि त्यहाँबाट अत्यन्त चहलपहलयुक्त पातोंग शहर फर्कियौ | त्यस रात म मस्तसँग पातोंग शहरमा निदाए |
भोलिपल्ट ७ अक्टोबरमा हामी फि फि आइल्याण्ड तर्फ गयौ | हामीलाई बिहान एउटा हाईसले पिकअप गरी पाएर एसिया मारिना, मुवांग भन्ने ठाउँमा सबैलाई हातमा ब्ल्यु ब्रासलेट लगाउन लगाई ब्रेकफास्ट खुवायो र केहीबेर पर्खायो | हाम्रो टिमको गाइड थियो टोनी | उसले केही यात्रा सम्बन्धी निर्देशनहरू दियो | टोनी बहुत फुर्तिलो थियो | टोनीले केहीबेरमा त्यहाँबाट हामीलाई एउटा सानो पानी जहाजमा चडायो | सुरुमा हामीलाई मन्की आइल्यान्डमा लग्यो | त्यहाँ साना साना बाँदरहरू थिए | त्यहाँबाट हामी फि फि आइल्याण्डतर्फ गयौ | त्यहाँ अत्यन्त स्वादिष्ठ खाना खायौ | अनि केहीबेर समुन्द्रमा पौडी खेल्यौ | त्यो बहुत सुन्दर समुन्द्रको तट थियो | वरिपरि सुन्दर जंगल अनि समुन्द्रको तटको मिठासपूर्ण तरिकाले अवलोकन गरियो | त्यसपछि हामीलाई माया बे आइल्याण्डतर्फ लगियो | माया बे बहुत सुन्दर स्थान रहेछ | हामीले तस्बिरहरू खिच्यौ | मैले सानो भिडियो बनाए र तत्काल फेसबुकमा अपलोड गरिहाले |
अनि हामीलाई टोनीले एउटा सुन्दर स्थानमा लगी आधा घण्टा समुन्द्रमा पौडी खेल भन्यो | मैले सीपबाट समुन्द्रमा डाइभ हाने अनि बहुत रमाइलो सँग पौडी खेले | त्यो सानो शिपमा अरु विभिन्न देशका व्यक्तिहरू पनि थिए|हामी करिब जम्मा २५ जना जति थियौ | त्यसपछि हामी खाई नोक आइल्याण्डतर्फ लाग्यौ | त्यहाँ केहीबेर समुन्द्रमा पौडी खेल्दै समुन्द्री तटको साँझपखको सुन्दर दृश्यावलोकन गरी बितायौ | त्यसपछि हामी पियर एसिया मरीनातर्फ फर्कियौ | त्यहाँबाट फेरी हाईसमा चढी हामी पातोंग शहर फर्कियौ | पातोंग बिचको रात्रि जीवन अवलोकन गरी त्यस रात पनि पातोंग शहरमा म निदाए |
भोलिपल्ट ८ अक्टोबर, २०२४ मा हामी पी आर रेजिडेन्सी पातोंगमा मिठो नेपाली खाना खाई फुकेट अन्तराष्ट्रिय विमानस्थल आयौ | हाम्रो बैंकक उड्ने समय दिउसो २:५५ थियो तर बर्षातको कारणले २ घण्टा डिले भइ ४:५५ मा मात्र जहाज बैंकक तर्फ उड्यो | थाइल्याण्डमा पनि प्लेन डिलेको अनुभव गरी साँझ ६:३० मा हामी बैंकक आइपुग्यौ | त्यस दिन राति म बैंककको पतुनाममा रहेको गोल्डेन इन भन्ने गेस्ट हाउसमा बसे | मेरा केही सामानहरू बैंककमा बस्ने मेरो मित्र विष्णु पाण्डेको अपार्टमेन्टमा थियो | बिहान त्यहाँ गई विष्णु र म लगेजहरू लिएर गोल्डेन इन गेस्ट हाउस आयौ | केही बेर सपिङ गरेपछि दिउसो ठिक १२ बजे होटेल छोडी हामीले एउटा इन्डियन रेस्टुरेन्टमा खाना खायौ | त्यसपछि राजा पार्क मेट्रो स्टेसनबाट मेट्रो चढी हामी सुबर्णभुमी अन्तर्राष्ट्रिय विमानस्थल तर्फ गयौ | त्यहाँ मेरा अरु तिन जना साथीहरू भेट भए |

बैंककको सुबर्णभुमी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजमा हामी साँझ ६: ०५ मा काठमान्डुतर्फ उड्यौ | थाईल्याण्डको समय अनुसार बेलुकी ९:२२ (नेपाली समय अनुसार बेलुकी ८:१० ) मा खटट गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्लेन ल्याण्ड गर्यो | १३ वर्ष मुनिका बिध्यार्थीहरुको फुटबल म्याचमा नेपालबाट सहभागी हुन केही बालकहरू थाइल्याण्ड गएर फर्केका रहेछन् | उनीहरूले प्लेन ल्याण्ड गर्ने बित्तिकै ताली बजाए | म प्लेनबाट उत्रिएर आफ्नो लगेजहरू लिई मेरा साथीहरूलाई बाई बाई गरी टेक्सीमा नेपाली समय अनुसार करिब १० बजे घर आइपुगे | दशैको समय थियो | दसैँमा गाउँ गए अनि गाउँभरि चकलेट बाढे | परिवारका सदस्यहरूलाई अनि आफन्तजनहरूलाई थाइल्याण्डबाट ल्याएका कुनै न कुनै उपहारहरू दिए |
नेपाल जस्तो कम विकसित देशको इन्जिनियरिङ क्षेत्रको कर्मचारी म विकसित देश थाइल्याण्डको विकास देखेर बहुत प्रभावित भए | गगनचुम्बी भवनहरू , सफा र फराकिला सडकहरू, ठाउँ ठाउँमा फ्लाईओभरहरु, आधुनिक ट्राफिक म्यानेजमेन्ट प्रणाली, बैंककको मोडर्न मेट्रो ट्रेन प्रणाली, शहर शहरमा भव्य र विशाल अनि सफा विमानस्थल अनि त्यहाँको व्यवस्थित प्रणाली इत्यादि भौतिक समृद्धिले भरिपूर्ण विकसित थाईल्याण्डको विकास देखेर कसरी नेपाललाई पनि विकसित बनाउन सकिन्छ भनेर चिन्तन गरिरहे |
बुद्ध जन्मेको देश नेपालको मान्छे म बुद्धिस्ट देश थाइल्याण्डमा ठाउँ ठाउँमा बुद्धिस्ट मोनेस्ट्रीहरु देखेर खुसी भए | थाइल्याण्ड सेरोमोनियल राजतन्त्र भएको देश हो | अनि एसियामा थाइल्याण्ड उदार र खुला मनोविज्ञान भएको देश पनि हो | अत्याधिक मात्रामा विदेशी पर्यटकहरू थाइल्याण्डमा घुमिरहेको जताततै देख्न सकिन्छ | यसरी एसियाको बहुत सुन्दर प्रकृतिको अनुपम छटाले भरिएको अनि विकसित देश थाईल्याण्डको बहुत सुन्दर र रोमाञ्चक भ्रमण गरी म आफ्नो देश नेपाल फर्किए | मनभरि यस भ्रमणको अवसरको लागि नेपाल सरकार र म कार्यरत निकाय स्थानीय पूर्वाधार विभाग अनि एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरप्रति हार्दिक आभार व्यक्त गरिरहे |

लेखक शहरी विकास मन्त्रालयका उपसचिव हुन्