काठमाडौँ । निजामती कर्मचारी अस्पताल विकास समितिका अध्यक्ष एवं नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले निजामती अस्पताललाई उत्कृष्ट बनाउनु पर्नेमा जोड दिएका छन्। आइतबार रेडियोथेरापी स्वास्थ्य सेवाको उद्घाटन गर्दै उनले भने, ‘निजामती अस्पताललाई अन्य अस्पतालहरूले सिक्ने केन्द्र बनाउन जरुरी छ। अस्पतालको उद्देश्य र स्थानको हिसाबले सेवाहरूलाई अझ प्रभावकारी र कुशल बनाउनेतर्फ काम गर्नुपर्नेछ।’
उनले बिरामीको आवश्यकताअनुसार सेवा वर्गीकरण र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिन निर्देशन दिए। ‘दिनानुदिन आउने बिरामीहरूको प्रकृति हेरेर सेवा प्रभावकारी बनाउनु पर्छ। कुनै पनि बहानामा अत्यावश्यक सेवा अवरुद्ध गर्न पाइँदैन। व्यावसायिकता र नैतिक दायित्व देखाउनु सबै कर्मचारीहरूको दायित्व हो,’ उनले थपे।

मुख्य सचिव अर्यालले अस्पताल सुधारका लागि व्यावसायिक योजनासहितको प्रस्ताव ल्याइए बजेट अभाव नहुने आश्वासन दिए। ‘निजामती अस्पताललाई सुधार गर्न ठोस योजना ल्याइयो भने बजेट र सहयोग रोकिँदैन। यसलाई ओएण्डएम (संगठन संरचना र व्यवस्थापन) गर्दै सुधार गर्न निर्देशन दिन्छ,’ उनले भने।
स्वास्थ्य सचिव हरि मैनालीले रेडियोथेरापी सेवाको थालनीलाई सराहना गर्दै क्यान्सर सेवा सात वटै प्रदेशमा विस्तार गर्नुपर्ने बताए। ‘क्यान्सर उपचार कोषमार्फत बजेट व्यवस्थापनका लागि समन्वय गर्न तयार छौँ। यसलाई विशिष्ट अस्पतालका रूपमा विकास गर्न सहयोग गर्नेछौँ,’ मैनालीले भने।
संघीय मामिला तथा सामान्य प्रशासन सचिव भरतमणि सुवेदीले निजामती अस्पतालको सेवा विस्तार प्रदेश स्तरमा पुर्याउन जग्गा प्राप्ति प्रक्रिया अघि बढिसकेको बताए। ‘मुटु र फोक्सो प्रत्यारोपणजस्ता जटिल सेवाहरूका लागि प्रारम्भिक काम सुरु भइसकेको छ। प्रदेशस्तरीय सेवाको आवश्यकता पूरा गर्न पहल गरिरहेका छौँ’ उनले भने।
निजामती अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. विद्यानिधि पौडेलले रेडियोथेरापी सेवाको थालनीका लागि पाँच वर्ष लागेको उल्लेख गर्दै अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार भइरहेको बताए। ‘तलब असमानताजस्ता समस्या समाधान गर्दै अस्पताललाई शिक्षण प्रतिष्ठानका रूपमा विकास गर्नुपर्नेछ। ओएण्डएम तुरुन्त गरिनुपर्छ,’ उनले सुझाए।
क्यान्सर उपचारमा उच्च गुणस्तरका उपकरण थपिएको जानकारी दिँदै डा. सुभाष पण्डितले बिरामीलाई विदेश जानुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास व्यक्त गरे। ‘अन्तर्राष्ट्रिय स्तरका मेसिन सञ्चालनमा आएका छन्। तर, जनशक्ति व्यवस्थापनमा अझै समय लागेको छ,’ उनले भने।
चिकित्सा शिक्षा आयोगका डा. अञ्जनी कुमार झाले स्वास्थ्य क्षेत्रमा लगानी गर्दा तत्काल प्रतिफल नआउने भए पनि दीर्घकालीन रूपमा यसले ठूलो प्रभाव पार्ने बताए। ‘क्यान्सरका बिरामीहरूको संख्या बढिरहेको छ। कतिपयले घर घडेरी बेचेर उपचार गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थालाई सुधार गर्न स्वास्थ्य, शिक्षा र अनुसन्धानमा पर्याप्त लगानी गर्नुपर्छ,’ उनले बताए।
रेडियोथेरापी सेवाको यो शुरुवातसँगै निजामती अस्पतालले क्यान्सर उपचारमा नयाँ सेवा तथा सुविधा थपेको छ । अस्पताल व्यवस्थापनमा देखिँदै आएका कमीकमजोरीहरूलाई तत्काल सुधार्दै गुणस्तरीय सेवामा जोड दिन सके स्वास्थ्य उपचारमा ठूलो योगदान पुर्याउन सक्नेछ ।