काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागले आफ्नो स्थापनाको ५३औँ वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ। वि.सं. २०२९ मंसिर ४ गते स्थापना भएको विभागले विगतका उपलब्धिहरूको समीक्षा गर्दै आगामी योजनाहरूमा आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि खानेपानी मन्त्री प्रदीप यादवले विभागले विगतमा पुर्याएको योगदानको प्रशंसा गर्दै दिगो विकासका लक्ष्यहरू हासिल गर्न तीनै तहका सरकार, विकास साझेदार र उपभोक्ता संस्थाहरूको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए

कार्यक्रममा विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले विभागको ५३ वर्षको यात्रा र उपलब्धिहरूको चर्चा गर्दै भने, ‘खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ वर्षको इतिहास, केवल एक संस्थाको इतिहास मात्र होइन यो नेपालको सामाजिक, आर्थिक र स्वास्थ्य सम्बन्धी विकास यात्राको अभिन्न हिस्सा पनि हो। यो विभागको स्थापना, स्वच्छ खानेपानी र प्रभावकारी ढल व्यवस्थापनको माध्यमबाट स्वस्थ, समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्ने सपना साकार पार्ने उद्देश्यले भएको थियो। आज, हामीले ती सपनाहरूको मार्गमा उल्लेखनीय प्रगति गरेका छौँ, तर अझै धेरै गर्न बाँकी छ।’
महानिर्देशक श्रेष्ठले विगत ५३ वर्षमा विभागले हासिल गरेका प्रमुख उपलब्धिहरूमा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच विस्तार, शहरी क्षेत्रमा ढल व्यवस्थापनका लागि आधुनिक प्रविधिको प्रयोग, जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्न अनुकूल रणनीतिहरूको कार्यान्वयन, र डिजिटल प्रविधिहरूको प्रयोगले सेवा प्रभावकारिता बढाएको जानकारी दिए। उनले जलवायु परिवर्तन, सहरीकरण र ग्रामीण क्षेत्रमा स्वच्छ पानीको पहुँच सीमित रहनुजस्ता चुनौतीहरूको सामना गर्न सहकार्य, स्थानीय स्रोत परिचालन, दक्ष जनशक्ति विकास, र प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा उत्कृष्ट सेवा प्रवाह गरिरहेका सातवटा उपभोक्ता संस्थाहरूलाई सम्मान गरिएको थियो। वक्ताहरूले स्रोत संरक्षण, सरसफाइको महत्त्व र जलवायु परिवर्तनले खानेपानी क्षेत्रमा पारेका चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए।
कार्यक्रमको अन्त्यमा विभागले दिगो विकास लक्ष्य प्राप्तिका लागि आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँदै, १००५ जनसंख्यालाई सुरक्षित खानेपानी र ढल व्यवस्थापन सेवा पुर्याउने दीर्घकालीन लक्ष्य राखेको स्पष्ट पार्यो। महानिर्देशक श्रेष्ठले भने, ‘हामीले आज गरेका साना–साना कामहरूले भोलिका दिनमा देशको प्रगतिमा ठूला परिणाम ल्याउनेछन्। आउनुहोस्, यो दिवसलाई हाम्रो प्रतिबद्धता नवीकरण गर्ने अवसर बनाऔँ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको यो ऐतिहासिक यात्राले नेपालको दिगो विकास र समृद्ध समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।