अजरबैजान, बाकु । नेपाल अल्पविकसित राष्ट्रहरूको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकूलन कोषको सदस्यको रूपमा पुनः मनोनयन भएको छ ।
अजरबैजानको बाकुमा जारी जलवायु सम्मेलनको क्रममा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धिको व्यवस्थाअनुसार अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा मनोनीत भएका हुन् ।
बोर्ड सदस्यको लागि शर्मालाई नेपाल सरकारले प्रस्ताव गरेको थियो । एलडिसी समूहले शर्मालाई सन् २०२५/२०२६ का लागि बोर्ड सदस्यको रूपमा मनोनयन गरेको हो ।
यो मनोनयनपछि नेपाललाई अनुकूलन कोषमा पहुँच बिस्तारका लागि सहज हुने र कार्यक्रम स्वीकृत गरी बजेट ल्याउन सहजीकरण हुने मनोनीत सदस्य शर्माले बताए ।
‘जलवायु अनुकूलन कोषको बोर्ड सदस्यको रूपमा पुनः कार्य गर्न पाउँदा खुसी लागेको छ’, उनले भने, ‘नेपालसहित अन्य ४४ राष्ट्रको अनुकूलन सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न बजेट र कार्यक्रम स्वीकृत गरी कार्यक्रम कार्यान्वयन गर्ने भूमिकामा मैले सहजीकरण गर्नेछु ।’