डोटी । डोटीमा आर्थिक वर्ष २०७९/०८०मा सरकारलाई सबैभन्दा बढी कर तिर्ने पाँच जना व्यवसायीलाई उत्कृष्ट करदाताको रूपमा सम्मानित भएका छन् ।
शुक्रबार करदाता सेवा कार्यालय डोटीले आयोजना गरेको कर दिवस एवं कर सप्ताहको समापन समारोहमा उत्कृष्ट करदाताहरूलाई डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले माला, अबिर र प्रशंसा पत्रद्वारा सम्मान गरेका हुन् ।
समारोहमा बोल्दै प्रजिअ जोशीले करदाताहरूलाई बधाई दिँदै सबै नागरिकले कानुन अनुसार कर तिर्नु पर्ने सम्बन्धी जागरूकता फैलाउनु पर्ने बताए । उनले कर तिर्ने नागरिक र व्यवसायीहरू नै देशको समृद्धिका आधार स्तम्भ भएकोले व्यापार व्यवसाय गर्ने जो सुकै व्यवसायीहरूले अनिवार्य रूपमा आधिकारिक निकायमा दर्ता तथा आबद्धता गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका थिए ।
सम्मानित हुनेमा घटाल बाबा ट्रेडर्सका प्रोप्राइटर सुबिन साउँद, जे।बी ट्रेडर्सका प्रोप्राइटर जंग बहादुर रावल, पि.एस. कन्स्ट्रक्सनका प्रोप्राइटर प्रेम शंकर भट्ट, एस.जि. फयूल सेन्टरका प्रोप्राइटर प्रेम बहादुर भण्डारी र सेती निर्माण सेवाका प्रोप्राइटर घनश्याम दत्त पाठक रहेको करदाता सेवा कार्यालय डोटीकी प्रमुख चाँदनी थापाले बताइन् ।
उनीहरूले क्रमशः ८ लाख १३ हजार ९ सय ६१ रुपैयाँ, ५ लाख ७१ हजार ४ सय ८१ रुपैयाँ, ५ लाख २ हजार ३ सय ६५ रुपैयाँ, ४ लाख ६६ हजार ५ सय २२ रुपैयाँ र ३ लाख ७५ हजार २ सय १२ रुपैयाँ कर तिरेको प्रमुख थापाले बताइन् ।
करदाता सेवा कार्यालयकी प्रमुख थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उत्कृष्ट कार्य गरेबापत कार्यालयका कर्मचारी वीर बहादुर ठगुन्नालाई पनि नगद रु पाँच हजार सहित सम्मान गरिएको थियो ।
करदाता सेवा कार्यालयले साताव्यापी कार्यक्रम अन्तरगत मङ्सिर १ गते देखि ७ गते सम्म करदाता शिक्षा सम्बन्धी सचेतना, सेवा ग्राहीलाई दैनिक रूपमा सम्मान, कर पुस्तीका वितरण, करदाता शिक्षा सम्बन्धी अन्तरक्रिया लगाएका कार्यक्रमहरूको आयोजना गरेको समेत कार्यालयले जनाएको छ ।


