काठमाडौँ। दुई बुँदे माग राखेर नेपाल खुला विश्वविद्यालयका प्राध्यापक र कर्मचारी आन्दोलित भएका छन् । स्थायी प्रक्रिया नगरेको र ऐनमा भएको सेवा सुविधा नपाएको भन्दै आज (मंगलबार)देखि प्राध्यापक र कर्मचारी आन्दोलित भएका हुन् ।
आन्दोलित प्राध्यापक र कर्मचारीले उपकुलपति र रजिस्ट्रार र डिन कार्यालयमा ताला लगाएका छन् । सातौँ सिनेटको बैठकले स्थायी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । तर, अहिलेसम्म पनि प्रक्रिया अगाडि नबढाएपछि आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिले जनाएको छ ।
कार्यकारी परिषद्को आइतबारको बैठकमा सोमबार माग सम्बोधन गर्ने सहमति भएको थियो । तर, सोमबार निर्णय गर्ने भनिएको बैठक उपकुलपति शिलु मानन्धर बज्राचार्यले बैठक स्थगित गरेपछि आन्दोलनमा उत्रनु परेको उनीहरूको भनाई छ ।
खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीन वटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो । तर, स्थायीको प्रक्रिया अहिलेसम्म नि अगाडि बढेको छैन ।प्राध्यापक र कर्मचारी गरेर ३५ जना आन्दोलित भएका हुन ।