काठमाडौँ । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रले तालमेल गरेका छन् ।
दुवै दलले ०८४ को स्थानीय निर्वाचनका लागि समेत पद बाँडफाँटको समझदारी गर्दै अहिलेको चुनावमा तालमेल गरेका हुन् ।
चुनावी तालमेलअनुसार उपनिर्वाचनमा माओवादीले एमालेलाई सघाउँदै छ । माओवादीबाट उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले एमाले उम्मेदवार सुलोचना भण्डारी बुढालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् । उनी एमालेकै उम्मेदवारको चुनावी प्रचारप्रसारमा संलग्न छिन् ।
एमालेसँग चुनावी तालमेल गरिएको सवालमा माओवादी भने दुई समूहमा विभाजित छ । पार्टीको जिल्ला कमिटी तालमेलको विपक्षमा छ ।
स्वामिकार्तिकमा काँग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार छन् । एमाले उम्मेदवार बुढा ०७९ मा पनि उपाध्यक्षको उम्मेदवार थिइन् । स्वामिकार्तिकमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको ०८० माघ ४ मा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।