पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई अपांगतामैत्री सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अपांगता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा ललितपुर महानगरपालिकाद्वारा आज जावलाखेलमा आयोजित कार्यक्रममा प्रमुख महर्जनले अपांगतामैत्री पूर्वाधार निर्माण, सूचना प्रवाह र सेवा प्रवाहमा ध्यान दिएको जानकारी गराए।
“हामीले यसको सुरुआत गरिरहेका छौँ, हामीले धेरै राम्रो कामहरू गरिरहेका छौँ, अरू स्थानीय तहले फलो गरिरहेका छन्, एकान्तकुनामा लिप्टसहितको अपांगतामैत्री पुल बन्दैछ, धोबिघाटबाट कीर्तिपुर जाने पुल पनि अपांगतामैत्री हुनेछ, हामीले निर्माण गरेका सबै संरचना अपांगता मैत्री छन्, अपांगतामैत्री फुटपाथलगायत संरचना निर्माण गर्ने पहिलो स्थानीय तह हौँ”, प्रमुख महर्जनले भने । उनले अपांगतामैत्री पूर्वाधारका साथै प्रविधिको विकासका लागि संघीय सरकार, प्रदेश सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग हातेमालो गरेर अगाडि बढ्ने बताए।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अपांगताको जीवन जिउनु रहर नभई बाध्यता भएको भन्दै बाध्यताका कष्टकर जीवनयापन गरिरहेकालाई सहयोग गर्नु र माया गर्नु कर्तव्य र दायित्व भएका बताइन्।