काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
शुक्रबार धरान पुगेका गृहमन्त्रीलाई भेटेर सुनसरीका पत्रकारहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए ।
‘लोकतन्त्रमा प्रेस पूर्ण स्वतन्त्र हुनुपर्छ । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक हुन् । प्रेस स्वतन्त्रता रहेपछि लोकतन्त्र जीवन्त रहन्छ,’ ध्यानाकर्षण पत्र बुझ्दै लेखकले भने । कार्यक्रममा कोशी प्रदेशका डिआइजी चन्द्रकुवेर खापुङ पनि सँगै थिए ।
खोज पत्रकारिता केन्द्रका लागि धरानका पत्रकार गोपाल दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा मेयर साम्पाङको कार्यशैलीबारे विस्तृत रिपोर्ट लेखेका थिए ।
तर, साम्पाङले सामाजिक सञ्जालमा सार्वजनिक सामाचारको एउटा सानो अंशलाई लिएर बिहीबार धम्कीपूर्ण सन्देश लेखेका थिए । ‘नत्र तँ ‘को यस्तो बेइज्जत गर्छु कि शिर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा । निकै फुरफुर गरिस् तिमेरूले ऐना हेर्दा थुक्ने बनाइदिन भने मेरो नाम हर्क साम्पाङ होइन’ उक्त रिपोर्टपछि मेयर साम्पाङले लेखेका थिए ।
यसको आधा घण्टापछि उनले फेरि फेसबुकमार्फत निर्देशनात्मक सन्देश लेखे, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान-१८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछ, भने मेरो नाम हर्क साम्पाङ होइन ।’