काठमाडौँ । चितवन प्रहरीले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा लाने क्रममा दुर्व्यवहार भएको भन्दै भइरहेको प्रचारप्रति ध्यानाकर्षण गराएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि चितवनको हिरासत कक्षमा समेत नलगिएको प्रहरीको दाबी छ ।
‘बयान कार्य सकिएपश्चात् जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट गरी सकेपश्चात् त्यहीँबाटै सुरक्षा सतर्कता अपनाएर जिम्मेवार प्रहरी अधिकृतको कमाण्डमा कास्की लगिएको थियो,’ चितवन प्रहरीले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ ।
नायब उपरीक्षकको कमाण्डमा रविलाई कास्की लगिएको भन्दै तथ्यहीन, भ्रामक एवं झुट्टा समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले ध्यानाकर्षण गराएको हो ।
‘प्रहरीका कर्मचारीले राती सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्ने जस्ता भ्रामक, झुट्ठा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, चितवनको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रहरीले भनेको छ ।
