काठमाडौँ । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक विद्यालयका मात्रै नभई निजी विद्यालयका सञ्चालक पनि पार्टीको कार्यकर्ता रहेको बताएकी छिन् ।
मंगलबार काठमाडौँमा भएको ‘विद्यालय शिक्षा विधेयक’माथिको अन्तरक्रियामा उनले निजी विद्यालयका सञ्चालकले राजनीति गर्दा कोही पनि बोल्ने नगरेको गुनासो गरिन् ।
‘सार्वजनिकमा मात्र होइन निजीका सञ्चालक नै पार्टीको क्याडर हुनुहुन्छ । यो विषय किन उठ्दैन रु यो विषय बाहिर ल्याउन सक्दैनौं । सार्वजनिक विद्यालयको मात्र नकारात्मक प्रवाह भइरहेको छ,’ उनले भनिन् ।
निजी विद्यालय शक्तिबाट निर्देशित भएको पनि उनले टिप्पणी गरिन् । ‘सार्वजनिक विद्यालय शक्तिविहीन भए, जो राज्यबाट चलेका छन् । संस्थागत विद्यालय शक्तिबाट निर्देशित छन् । शक्तिशाली छन्,’ उनले भनिन् ।
यी असमान विषय विद्यालय शिक्षा ऐनले टुंगो लगाउनुपर्ने उनको भनाइ थियो । ‘पैसा नभएका कारण कोही पनि शिक्षाबाट बञ्चित हुन पाइँदैन,’ उनले भनिन् । निजीलाई बन्द गर्नेभन्दा पनि नियमनको आवश्यक रहेको मन्त्री भट्टराईले बताइन् ।
‘निजीलाई निषेध गर्ने भनेको होइन, नियमन गर्ने भनेको हो । अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले स्पष्ट भनेको छ । यो ऐन कार्यान्वयन गर्न सकिन्छ,’ उनले भनिन् । निजीले ऐनमा तोकेबमोजिम छात्रवृत्ति दिनुपर्ने उनको जोड छ ।