काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारी कर्मचारीमा नयाँ स्लोगन आवश्यक रहेको बताएका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा उनले यस्तो बताएका हुन् ।
‘विगतमा राजाको काम कहिले जाला घाम भन्ने गर्थ्यो । राजाको सिन्दूर लाएपछि राजाप्रति नै जबाफदेही भए हुन्थ्यो । अहिले जनताप्रति जबाफदेही हुनुपर्ने शासन व्यवस्था छ,’ उनले भने । राजाको पालाका त्यस्तो स्लोगन बदल्नुपर्ने उनको प्रस्ताव छ । ‘आफ्नो काम, सन्तोषजनक दाम । सेवामा हुने छैन कम’ भट्टराईको प्रस्ताव छ ।
भट्टराईले आफ्नो कुरा राखेपछि समिति सभापति रामहरि खतिवडाले पनि कर्मचारीमा नयाँ स्लोगन आवश्यक रहेको बताए । ‘राजाको काम कहिले जाला घाम भन्नेलाई बदलेर जनताको काम, छिटो नजाओस् घाम भन्ने कि माननीयज्यू,’ सभापति खतिवडाले भने ।
भट्टराईले थपे, ‘मिलाउन सक्नुहुन्छ र हजुर सभापति नि ।’ ९ महिना अघि संसदमा आएको निजामती विधेयकमाथि राज्य व्यवस्था समितिमा आइतबारदेखि दफावार छलफल सुरु भएको हो । छलफलमा सांसदहरूले आफ्नो संशोधन प्रस्ताव राखिरहेका छन् ।
निजामती विधेयकमा सांसदहरूले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन परेको छ । यो विधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।