काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी माओवादीले एमाले र आफूविरुद्ध कु-प्रचारका लागि गिरोह परिचालन गरिरहेको आरोप लगाएका छन् ।
नराम्रा कामहरू जति सबै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा भइरहेको उनले दाबी गरे ।
आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलामा बोल्दै ओलीले महादेवले हलाहल विष पिएजस्तो आफूले सबै पचाइदिने बताए ।
ओलीले भने, ‘देशमा माओवादी जुन दिन पलायो, त्यहीँबाट जाली, फटाहा, झूट, बेइमानी सुरु भयो । अहिले हामीविरुद्ध कुप्रचार गर्ने सबै काम माओवादीहरूको नेतृत्वमा भइरहेको छ । नराम्रा कामहरुजति ‘प्रचण्ड’ महोदयले नेतृत्व गरिहनु भएको छ । उहाँहरूको गिरोह सक्रिय छ, अरू होइन नेकपा एमालेका विरुद्धमा । त्यसमा पनि मेराविरुद्ध ।
शिवजीले हलाहल घाँटीमा लिएर कहिले गोसाईंकुण्ड कहिले कहाँ जानुभयो, म काठमाडौं बसिबसी त्यस्ता विष पिइदिन्छु । निलि पनि दिन्छु, पचाइ पनि दिन्छु । कतै जानु पर्दैन । जसले जे जे फैलाए पनि खण्डन गरेर जाने हो, झूटलाई परास्त गरेर जाने हो ।