काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभिन्न अराजक शक्तिहरूले एमालेलाई कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् । एमाले डोटीको नवौँ जिल्ला सम्मेनलको उद्घाटनका लागि डोटी पुगेका एमाले महासचिव पोखरेलले एमालेले जनताको पक्षमा काम गरेको भएका कारण एमालेलाई कमजोर बनाउन खोजिएको आरोप लगाए ।
‘अन्तराष्ट्रियस्तरमा निर्भयका साथ आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने आफ्ना कुरा राख्न सक्ने नेतृत्व एमालेसँग मात्रै छ, देशलाई निकास दिन सक्ने योजना एमालेसँग मात्रै छ’ पोखरेलले भने ‘यही कारणले एमालेसँग डराएका विकास र समृद्धि विरोधीहरूले एमालेलाई कमजोर बनाउन खोज्दैछन् ।’
एमालेलाई कमजोर बनाउने षड्यन्त्र अन्तरगत कम्बोडियाको झुटो काल्पनिक घटनालाई लिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बद्नामित गर्ने काम भइरहेको पोखरेलको भनाई छ ।
वर्तमान एमाले-काँग्रेसको गठबन्धन राजनीतिक स्थायित्वका लागि भएको उनको दाबी छ । ‘जनताले चुनेका प्रतिनिधिले शासन गर्ने व्यवस्थालाई बलियो बनाउनु पर्ने जरुरी छ’ महासचिव पोखरेलले भने ‘सिटका आधारमा ठुलो पार्टी काँग्रेस, मतका आधारमा ठुलो पार्टी एमाले तर ३२ सिटे पार्टीले प्रधानमन्त्री बन्ने र पाँचै वर्ष चलाउँछु भन्ने धाक लाउने कुरा भयो ।’
यसलाई रोकेर जनभावनाको कदर गर्न राजनीतिक स्थायित्व कायम गर्न यो गठबन्धन गरिएको उनी बताउँछन् । ‘सरकार स्थायी भए मात्र देशको विकास हुन सक्छ, जनताका आधारभूत आवश्यकताहरू पुरा हुन सक्छन्’ पोखरेलले भने ‘प्रधानमन्त्रीले तीन महिना पनि काम गर्न नपाउने, मन्त्रीहरूले ६ महिनापनि काम गर्न नपाउने अवस्था रह्यो भने विकास हुन सक्दैन ।’
एमाले महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता स्वार्थमा लागेको बताए । ‘प्रचण्ड कमरेडलाई समाजवाद, जनताका आवश्यकता, देशको समृद्धिसँग कुनै वास्ता छैन’ उनले भने ‘उनी सत्ता कसरी प्राप्त हुन्छ, परिवारको स्वार्थ कसरी पुरा हुन्छ भन्नेमा मात्रै केन्द्रित रहेका छन् ।’
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै पोखरेलले टुप्पोबाट पलाएहरु देशको विकास गर्न नसक्ने दाबी गरे । ‘फेसबुक र ट्वीटरबाट चर्चामा आएकाहरूलाई नयाँ शक्ति भन्न सकिँदैन’ उनले भने ‘न राजनीतिक सिद्धान्त छ, न बिचार छ, यस्ता अराजकहरूले जनताको समस्या समाधान गर्न सक्दैनन् ।’